नेभिगेशन
अर्थतन्त्र

नीशाको चुनावी खर्च साढे सात लाख बढी

काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री नीशा अधिकारीले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । उनले फागुन २९ गते नै आयोगमा खर्च विवरण पेश गरेकी थिइन् । सो विवरण आयोगले सदर गरेपछि उनले सोही दिन फेसबुकमा राखेकी थिइन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताबमोजिम उनले शुक्रबार आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनको खर्च विवरण पेस गरेकी हुन् ।
नीशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार उनको चुनावी अभियानमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ ४५ पैसा खर्च भएको छ । उनको सबैभन्दा धेरै खर्च सामाजिक सञ्जाल (विज्ञापन र डिजाइन)मा भएको देखिन्छ । यसमा उनले साढे २ लाख रुपैयाँ खर्च गरेकी छन् । कार्यालय सञ्चालन, सवारी साधन, फोटो–भिडियोलगायतमा पनि उनको खर्च भएको देखिन्छ ।
उनलाई ८ जना स्वयंसेवकले सहयोग गरेका थिए र तिनको खाजा, खाना, यातायात खर्च, निर्वाचन कार्यक्रमलगायतमा करिब एक लाख ३० हजार खर्च भएको बताइएको छ ।
उनको तेस्रो बढी खर्च भिडियोग्राफीमा भएको देखिएको छ । यसमा १ लाख २० हजार बढी खर्च भएको छ । त्यस्तै कार्यालय सञ्चालनका लागि एक लाख १८ हजार लगभग खर्च भएको देखिएको छ ।
उनले चुनावी खर्चसँगै निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम आम्दानीको विवरण पनि आयोगमा बुझाएकी छन् । उनले आफू चुनाव लडेको गतिशील लोकतान्त्रिक पार्टीबाट २ लाख रुपैयाँ प्राप्त गरेकी थिइन् । यस्तै २४ जना व्यक्तिले उनलाई चुनाव खर्चका लागि व्यक्तिगतरूपमा सहयोग गरेका थिए । त्यो सहयोग रकम ५ लाख ४९ हजार ६७ रुपैयाँ रहेको उनले जनाएकी छन् । यस्तै उनी आफैंले निजीरूपमा २७ हजार ८५५ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख गरेकी छन् । 
गत माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै नीशाले ५ बुँदे एजेन्डासहित काठमाडौं–५ मा चुनावी अभियान तीव्र बनाएकी थिइन् । तर, उनले अपेक्षाअनुसार मत भने पाउन सकिनन् । उनको जमानतसमेत जफत भयो । उनले जम्मा ९१ मत पाइन् । चुनावमा पराजय बेहोरेपछि उनले सामाजिक सञ्जालमार्फत संसद्मा पुग्ने सपना अझै जीवित रहेको बताएकी थिइन् ।
केहीले भने नीशाको यो पारदर्शितालाई व्यंग्य गरेका छन् । दीपेश कार्की घृतकौशिकले ४५ पैसा चाहिँ कता खर्च भएछ भन्दै टिप्पणी गरेका छन् भने सरोजले यत्रो पैसा खर्चेर जम्मा ९१ भोट भन्दै व्यंग्य गरेका छन् । अर्का टिप्पणीकर्ता दीपेश कुँवर सिंह जयले लेखेका छन्, ‘यो त एक भोटको एक लाखजस्तो भयो त ! सबैभन्दा महँगो चुनावी खर्च । बरू छोराको वचत खातामा पैसा जम्मा गर्नु भएको भए उसको भविष्य बन्ने थियो ।’
नीशाले भने यस्ता टिप्पणीको कुनै जवाफ दिएकी छैनन् ।
बरू उनले गतिशील लोकतान्त्रिक पार्टीले देशभरिबाट पाँच हजार १ सय १ मत दिएकामा उनले धन्यवाद दिएकी छन् । प्रत्यक्षतर्फ उनको पार्टीले तीन जनाको उच्च मत आएको बताउँदै सुर्खेत २ बाट पवन थापा मगरले ३४ मत प्राप्त गरेको, सर्लाही २ बाट उमेशकुमार सिंहले १०५ मत प्राप्त गरेको तस्बिर राख्दै उनले सम्पूर्ण मतदातालाई धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्,’ अनिकालमा बिउ जोगाउनु ।’
उनले बालेन शाहको आँट र साहसलाई धन्यवाद दिएकी छन् । अब बन्ने सरकारलाई पूर्णरूपमा समर्थन गर्दै खबरदारीको भूमिकामा रहन अत्यन्त उत्साहित रहेको पनि उनले लेखेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्