नेभिगेशन
मनोरञ्जन

एक्लोको दोस्रोमा काम गर्दै प्रदीप

नेपालको पहिलो साइफाई फिल्म ‘एक्लो–१’को दोस्रो भाग निर्माणका लागि काम थालेको निर्देशक प्रदीप शाहीले संकेत गरेका छन् । उनले फेसबुकमा लामो स्टाटस लेख्दै पहिलो भागको असफलतालाई घुमाउरो पाराले स्वीकार गरेका छन् ।
उनले लेखेका छन्, ‘तपाईंहरूले एक्लोमा नायक प्रदीप खड्कालाई बढी देख्न पाइन्छ भन्ने अपेक्षा गर्नुभएको थियो भन्ने मलाई थाहा छ तर एक्लोको दोस्रो भाग ‘राइज अफ कल्की’मा अझ धेरै झल्को देख्नुहुनेछ ।’
‘कल्की’को भागमा लेजर गन र ज्वालामुखी तरबारको संयोजन गर्न आफू आतुर भएको बताउँदै उनले प्रदीप खड्काको भूमिकालाई अझ बढी तयारी गरिरहेको जनाउ दिएका छन् । उनलाई प्रदीपको भाग लेख्न कठिन भइरहेको पनि बताएका छन् ।
‘एक्लो’को पहिलो भाग खासगरी बेग्लै संसार बनाउनमा केन्द्रित थियो । ‘एक्लो–भर्स’ विस्तार हुँदै जाँदा पहिलो फिल्ममा चित्त नबुझेका कुराको उत्तर पाइने उनले दाबी गरेका छन् ।
उनी भन्छन्, ‘पक्कै पनि बजेट र स्रोतको सीमितताले पहिलो फिल्मलाई सोचेजस्तो बनाउन सकिएन तर म त्यसलाई कहिल्यै बहाना बनाउने छैन । बरु, यही चुनौतीलाई प्रयोग गरेर म नयाँ प्रकारको अनुभव सिर्जना गर्ने प्रयास गर्दैछु । यो नेपाली दर्शकका लागि मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकका लागि पनि हुनेछ ।’
त्यसो त जस्तो काम गरे पनि कुरा काट्नेहरूले आलोचना नै गर्छन् । त्यसप्रति उनी सचेत छन् तर उनले रचनात्मक सुझावप्रति उनी उत्तिकै आभारी रहेको समेत बताएका छन् । राम्रा दर्शक नै ‘एक्लो–भर्स’को भविष्य रहेको बताउँदै उनले भविष्यमा बन्ने सिक्वेल अझ सशक्त हुने बताएका छन् ।
यसमार्फत फिल्म उद्योग परिवर्तन गर्ने सपना बोकेको उनले टिप्पणी गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘हाम्रो समृद्ध संस्कृति र इतिहासका कारण हामीसँग सुनाउनुपर्ने थुप्रैै कथाहरू छन् । अब यथार्थपरक कथामा सीमित नरही, अझ ठूला संसारहरूको कल्पना गर्ने समय आएको छ भन्ने मलाई दृढ विश्वास छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्