नेभिगेशन
प्रदेश

अन्नपूर्ण क्षेत्रमा दुई वर्षमा ३८ पर्यटकको मृत्यु 

कास्की, १३ भदौ - अन्नपूर्ण पदमार्ग क्षेत्र आसपासका उच्च हिमाली गन्तव्यहरूमा लेक (हाइअल्टिच्युट सिक्नेस) लागेर पछिल्ला दुई वर्षमा ३८ जना पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मृत्यु हुनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । 

दुई वर्षको अवधिमा १९ जना भारतीय र ११ जना नेपाली पर्यटकले ज्यान गुमाएका छन् । बाँकी बेलायत, युक्रेन, मलेसिया, अमेरिका, कोरिया, जर्मनी र स्वीट्जरल्याण्डका नागरिक रहेका छन् ।

लेक लाग्ने समस्याले हिमालपारिका मुक्तिनाथ, कोरला नाका, थोरङला पास तथा तिलिचो ताल जाने पर्यटकहरू बढी प्रभावित हुँदै आएका छन् । विशेषतः होचो भूभागबाट एकैदिन उच्च हिमाली क्षेत्रमा पुग्ने पर्यटकहरू लेकको उच्च जोखिममा पर्ने गर्छन् । 

तराई वा भारतका सीमावर्ती क्षेत्रबाट सिधै मुक्तिनाथ पुग्ने भारतीय तीर्थयात्री र आन्तरिक पर्यटकहरू खासगरी प्रभावित हुने गरेको एक्यापको विश्लेषण छ । समुद्र सतहदेखि करिब १०० मिटरको उचाइमा रहेका क्षेत्रबाट एकैदिन ३७१० मिटर उचाइमा रहेको मुक्तिनाथ पुग्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरू बताउँछन् ।

आर्थिक वर्ष २०८०-८१ मा २० जना र २०८१-८२ मा १८ जना गरी दुई वर्षमा कुल ३८ जना पर्यटकले अन्नपूर्ण क्षेत्रमा लेक लागेर ज्यान गुमाएका छन् । तीमध्ये सन् २०८०-८१ मा नेपाली ५, भारतीय ११, बेलायती, युक्रेनी १–१ र मलेसियाका २ जना थिए । सन् २०८१-८२ मा नेपाली ६, भारतीय ८ तथा अमेरिकी, कोरियाली, जर्मन र स्वीजरल्यान्डका १–१ जना थिए ।

पोखरामा घरपझोङ गाउँपालिका र होटल संघ पोखराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले पर्यटकको सुरक्षामाथि गम्भीर चिन्ता व्यक्त गरे । कार्यक्रममा एक्याप प्रमुख डा. रवीन कडरियाले पर्यटकहरू गाइड बिना तथा आवश्यक सावधानी नअपनाई उच्च हिमाली क्षेत्र पुग्ने प्रवृत्तिले मृत्युदर बढेको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय र आन्तरिक पर्यटकहरू प्रायः हतारको यात्रामा निस्कने र नसुस्ताई सिधै उचाइमा पुग्ने प्रवृत्तिले जोखिम बढाएको उल्लेख गरे ।

सरोकारवालाहरूका अनुसार अधिकांश घटनामा पर्यटकले ट्रेकिङ गाइड नलिने, पर्याप्त जानकारी नलिने, शरीर अनुकूल नबनाई सिधै उचाइमा पुग्ने तथा पूर्वतयारी नगरी यात्रा गर्ने प्रवृत्तिले ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ । यस्ता घटनाले देशको समग्र पर्यटन क्षेत्रमाथि नकारात्मक प्रभाव पार्ने व्यावसायीहरूको चिन्ता छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकलाई सचेत पार्ने सूचनात्मक सामग्री बोर्डर नाकादेखि नै राख्न सकिने बताए । अन्नपूर्णजस्तो साहसिक पर्यटकीय क्षेत्रमा जानेहरूका लागि गम्भीर तयारी आवश्यक भएको भन्दै उनले सरोकारवाला निकायहरूको समन्वयमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए ।

सुरक्षा व्यवस्थापन र पर्यटकमार्गमा अनिवार्य गाइड व्यवस्था गरी पर्यटकहरूको स्वास्थ्य परीक्षण र आवश्यक ब्रेक दिने प्रणाली लागू नगर्ने हो भने यस्ता दुःखद घटना भविष्यमा पनि दोहोरिन सक्ने विज्ञहरूको चेतावनी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्