काठमाडौं । नेपालमा पुष्प व्यवसायमा १ हजार २३५ व्यवसायीले ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी गरेको पाइएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा देशका ५२ जिल्लामा करिब २७० हेक्टरमा पुष्प खेती भइरहेको जानकारी दिइएको हो ।
फ्यानले ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा चैत ५ देखि ८ सम्म ‘२७औं फ्लोरा एक्स्पो’ आयोजना गर्दैछ । हाल सातै प्रदेशका मुख्य सहरसहित विभिन्न क्षेत्रमा पुष्प व्यवसाय विस्तार भइरहेको र पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५३ हजार ५ सयभन्दा बढीले रोजगारी पाएको पनि जनाइएको छ ।
नेपालमा पुष्प व्यवसायको सुरुवात २०११ सालबाट सामान्य स्तरमा भएको इतिहास छ । २०४९ सालसम्म देशभर करिब ८० नर्सरी व्यवसायी मात्र थिए । त्यस वर्ष फ्यानको स्थापना भएपछि पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धनले गति लिएको हो ।
सामान्य अवस्थामा पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक १० देखि १५ प्रतिशतसम्म वृद्धि हुँदै आएको छ । उत्पादन हरेक वर्ष बढिरहेको भए पनि भ्यालेन्टायन सप्ताहमा आयातित गुलाबको फूलमा निर्भर हुनुपर्ने बाध्यता रहेको फ्यानका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनका अनुसार अहिले पनि आन्तरिक उत्पादनभन्दा माग धेरै छ ।
नेपालमा बीउबिजन र बिरुवा उत्पादन गर्ने विज्ञहरू नरहेको तथा लागतका हिसाबले पनि खर्चिलो हुने हुँदा अहिले पनि आयात गरेर माग व्यवस्थापन गर्नुपरिरहेको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा देशको कमजोर आर्थिक अवस्था, पुष्प प्रवद्र्धन नीति २०६९ प्रभावकारी रूपमा कार्यान्वयन नहुनु तथा बीउबिजन नियमावली र प्लान्ट क्वारेन्टाइनसम्बन्धी नीतिगत परिवर्तनका कारण आवश्यक बीउबिजन, सिड्लिङ, कटिङ र स्याप्लिङ आयात गर्न समस्या हुँदा पुष्प व्यवसाय प्रभावित भएको थियो ।
गत आर्थिक वर्ष (२०८०÷८१) मा ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको पुष्प व्यवसायमा चालु आर्थिक वर्ष ८.५० प्रतिशतले घटेर करिब ३ अर्ब ३७ करोड रुपैयाँ कारोबार हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न क्षेत्रमा भएको कारोबार विवरणअनुसार सिजनल फूल बिरुवा २५.०२ करोड, आलंकारिक बिरुवा ९१.९५ करोड, कट फ्लावर ६१.०७ करोड, ल्यान्डस्केप तथा गार्डेनिङ २५.४४ करोड, खुला फूल १३.६४ करोड, सयपत्री तथा मखमली माला ८३.३६ करोड, सामग्री आपूर्ति २३.६२ करोड तथा अन्य (कार्पेट ग्रास, बल्ब, राइजम, ट्युबर, टिस्यु कल्चर आदि) ११.१० करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार गत आर्थिक वर्ष २०८०÷८१ मा १ करोड २ लाख १२ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख ६० हजार रुपैयाँ पुगेको छ । त्यस्तै आयाततर्फ भने ५४.२७ प्रतिशतले कमी आई १२ करोड ७० लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवमा २७ करोड ७९ लाख ५ हजार रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको थियो ।
२७औं फ्लोरा एक्स्पो चैत ५ देखि (बक्स)
पत्रकार सम्मेलनमा फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले एक्स्पोमा व्यावसायिक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धात्मक स्टल २ वटा, फुड स्टल २ वटा, ल्यान्डस्केप स्टल एउटा, सेल्फी स्टल एउटा तथा बीवाईडी ईभी कारको स्टल एउटा गरी कुल ८३ वटा स्टल रहनेछन् ।
मेलामा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवालाई उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेस)लगायत विधामा प्रतिस्पर्धा गराइने पनि तामाङले जानकारी दिए ।
प्रतिस्पर्धामा सहभागी फूलहरूको मूल्यांकन चैत ५ गते बिहान विषयविज्ञ प्राविधिकद्वारा गरिने आयोजकले जनाएको छ । उत्कृष्ट हुने व्यवसायीलाई उद्घाटन समारोहमा नगद, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, लामो समयदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका एक जना व्यवसायीलाई पनि कदरपत्रद्वारा सम्मान गरिने कार्यक्रम छ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य सामग्री आपूर्तिकर्ता कम्पनी र विभिन्न संघसंस्थाको सहभागिता रहनेछ । प्रदर्शनीमा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउविजन, ग्रिनहाउस, कृषि औजार तथा उपकरण, प्याकेजिङ सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला तथा पुष्प सजावटका सामग्री प्रदर्शन तथा बिक्री गरिने आयोजकले जनाएको छ ।
मेलास्थलमा बिरुवामा लाग्ने रोग–किरा तथा बिरुवाको स्वास्थ्य परीक्षणसम्बन्धी परामर्श दिन ‘प्लान्ट क्लिनिक’ सेवा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ । यस वर्षको फ्लोरा एक्स्पो अवधिभर करिब ६० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने तथा १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा विद्यार्थीका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिव्यक्ति १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
मेलासँगै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चैत ६ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम लायन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ ।