नेभिगेशन
मनोरञ्जन

हमालको ‘प्रवासी जीवन’को व्यापार कमजोर

नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले हरेक साता फिल्मको व्यापार अंक सार्वजनिक गर्ने गर्छ । सिनेपा बक्स अफिस प्रणालीले शनिबार राति १२ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार हाल प्रदर्शनमा रहेका चार नेपाली चलचित्रमध्ये ‘आबाट आमा’ले सर्वाधिक कमाइ गर्दै अग्रस्थान कायम गरेको छ । बक्स अफिस रिपोर्टसँगै फिल्महरूको कथावस्तु, कलाकार र दर्शकको प्रतिक्रियाअनुसार व्यापारमा ठूलो अन्तर देखिएको छ ।
सबैभन्दा अगाडि रहेको निर्देशक चन्द्र पन्तको चलचित्र ‘आबाट आमा’ पारिवारिक तथा सामाजिक कथामा आधारित फिल्म हो । आमाबाबु, सन्तान र परिवारबीचको सम्बन्ध, जिम्मेवारी र बदलिँदो सामाजिक मूल्यलाई केन्द्रमा राखेर बनाइएको यस फिल्ममा पुस्तान्तरणको भावनात्मक कथा प्रस्तुत गरिएको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको अभिनय रहेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मले हालसम्म चार लाख १७ हजार ९६३ टिकट बिक्री गर्दै करिब १२ करोड ११ लाख तीन हजार ८ सय २० बराबरको व्यापार गरेको छ ।
दोस्रो स्थानमा रहेको चलचित्र ‘कुमारी’ युवापुस्ताको प्रेम, सम्बन्ध र आत्मपहिचानको कथा बोकेको फिल्म हो । आधुनिक जीवनशैली, आकर्षण, विश्वास र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्ममा युवा कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्मले सहरी क्षेत्रका दर्शकलाई लक्षित गरेको देखिन्छ । यसले २० हजार ९ सय ६२ टिकट बिक्री गर्दै ६६ लाख २४ हजार ७ सय ५२ रुपैयाँ आम्दानी गरेको छ ।
तेस्रो स्थानमा रहेको चलचित्र ‘रमिताको पिरती’ रोमान्टिक कथामा आधारित फिल्म हो । प्रेम सम्बन्धमा आउने उतारचढाव, दूरी र पुनर्मिलनको भावनात्मक कथा प्रस्तुत गरिएको यस फिल्ममा युवा जोडीको प्रेम देखाउन खोजिएको छ । यसमा आना शर्मा, धिरज गुरुङ र विनय श्रेष्ठको मुख्य भूमिका छ । गीत–संगीत र प्रेमकथाका कारण फिल्मले सीमित तर स्थिर व्यापार गरिरहेको देखिएको छ । यस फिल्मले ९ हजार १०२ टिकट बिक्री गर्दै करिब ३० लाख ७० हजार ७ सय ८३ कमाइ गरेको छ ।
यसैबीच पछिल्लो समय रिलिज भएको सामाजिक विषयवस्तुमा आधारित चलचित्र ‘प्रवासी जीवन’मा वरिष्ठ अभिनेता राजेश हमाललाई पोस्टर ब्वाईका रूपमा प्रयोग गरिएको भए पनि फिल्मले कुनै चमत्कार देखाउन सकेन । उनी अभिनीत कुनै पनि फिल्मले पछिल्लो समय राम्रो व्यापार गर्न नसकिरहेको अवस्थामा यो फिल्मले पनि उनको स्टारडमको फाइदा उठाउन सकेन । श्याम क्षेत्री र राम अधिकारीद्वारा संयुक्तरूपमा निर्देशित यो फिल्मले विदेशिने नेपालीहरूको जीवन, संघर्ष, पारिवारिक विछोड र सपनाको खोजलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । 
तर सार्वजनिक बक्स अफिस विवरण अनुसार फिल्मले अपेक्षाकृत निकै कमजोर व्यापार गरेको छ । हालसम्म ५ सय २९ टिकट बिक्री गर्दै करिब १ लाख ४४ हजार २ सय ७० रूपैयाँ मात्र आम्दानी गरेको छ । यो व्यापार राजेश हमालले अभिनय गरेका अघिल्ला चर्चित फिल्महरूको तुलनामा अत्यन्त कम रहेको बताइएको छ । नेपाली फिल्म उद्योगका ‘मेगास्टार’ मानिने हमालका नाममा खुलेका फिल्महरूले सामान्यतया राम्रो ओपनिङ गर्ने परम्परा रहे पनि यसपटकको व्यापार त्यसको विपरीत देखिएको छ ।
आधिकारिक बक्स अफिस प्रणालीले नियमित रूपमा सार्वजनिक गर्ने तथ्यांकलाई नेपाली फिल्म उद्योगमा पारदर्शिता कायम गर्ने महŒवपूर्ण आधार मानिएको छ । निर्माता, वितरक र प्रदर्शकका लागि मात्र होइन, दर्शकका लागि पनि फिल्मको वास्तविक व्यापार थाहा पाउने विश्वसनीय माध्यमका रूपमा यो प्रणाली स्थापित हुँदै गएको छ । पछिल्लो तथ्यांकले भने नेपाली फिल्म बजारमा प्रतिस्पर्धा बढ्दै गएको र कथावस्तु, प्रस्तुति, प्रचार तथा दर्शकको रुचिअनुसार फिल्मको व्यापारमा ठूलो अन्तर पर्ने प्रवृत्ति झन् स्पष्ट हुँदै गएको संकेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्