नेभिगेशन
मनोरञ्जन

लय समात्दै अस्कर अवार्ड

पछिल्लो समय एकेडेमी अवाड्र्स अर्थात् अस्कर अवार्ड केही खल्लो हुँदै गएको महसूस भइरहेको थियो तर नेपाली समयअनुसार सोमबार सम्पन्न भएको अस्कर अवार्ड भने लामो समयपछिकै ताजा र उत्साहजनक महसूस भएको बीबीसीले लेखेको छ । उसले कारण दिँदै लेखेको छः
एकेडेमी अवाड्र्स मनोरञ्जन क्षेत्रकै सबैभन्दा ठूलो वार्षिक उत्सवमध्ये एक हो । त्यसैले यो समारोह आफैँमा मनोरञ्जनात्मक हुनुको साटो काण्डले भरिएको थियो । विशेष गरी पछिल्लो दशकमा यहाँ धेरै उतारचढाव देखिए । सन् २०१७ मा उत्कृष्ट चलचित्रको विजेता घोषणामा भएको अलमल, तीन वर्षसम्म बिना ‘होस्ट’ चलाइएको कार्यक्रम, २०२१ को कोभिड महामारीका बेलाको खल्लो जमघट, २०२२ मा विल स्मिथले क्रिस रकलाई हानेको थप्पड र व्यवस्थापकीय कमजोरीका कारण ओस्कर हेर्नु एउटा दिक्दारलाग्दो बनेको थियो ।
त्यसैले, सोमबार दिउँसोको अस्कर समारोह उत्साहजनक र रमाइलो रहेको केही फिल्मी विश्लेषकहरुको राय छ । उनीहरुका अनुसार सन् २०२६ को अस्कर अवार्ड यादगार हुनुका केही कारण छन्ः
दिग्गजहरू बीचको टक्कर 
९८औँ एकेडेमी अवाड्र्समा पल थोमस एन्डरसनको ‘वन ब्याटल आफ्टर एनोदर’ ले उत्कृष्ट चलचित्रसहित छ वटा विधामा ओस्कर जित्यो भने रायन कुग्लरको ‘सिनर्स’ ले चार वटा अवार्ड हात पा¥यो । यी दुई चलचित्रको प्रतिस्पर्धामा अनौठो कुरा के थियो भने दुवैमा धेरै समानता थिएः दुवै वार्नर ब्रदर्सले बनाएका थिए, दुवै साहसी र महŒवाकांक्षी फिल्म थिए । भनाइको अर्थ, कथावाचनमा यी दुवै अन्य पारम्परिक फिल्मभन्दा फरक देखिएका थिए । दुवै आ–आफ्ना विधाका अब्बल लेखक–निर्देशकका रुचाइएका परियोजना थिए र दुवैमा गोरा जातिवादीहरूलाई खलनायकका रूपमा प्रस्तुत गरिएको थियो ।
साथै, दुवै चलचित्र लोकप्रिय पनि थिए । ‘सिनर्स’ गत वर्षको सबैभन्दा बढी कमाउने मौलिक चलचित्र बन्यो । यसले विश्वभर करिब ३७ करोड डलर संकलन गरेको थियो । ‘वन ब्याटल आफ्टर एनोदर’ले २१ करोड डलर मात्र कमाए पनि यो ‘अनोरा’, ‘कोडा’ र ‘नोम्याडल्याण्ड’ जस्ता हालैका अस्कर विजेताहरूको तुलनामा निकै बढी हो । उत्कृष्ट चलचित्रको दौडमा रहेका फिल्महरूलाई लिएर यति धेरै मानिसले चासो देखाएको लामो समयपछि यो पहिलो पटक हो ।
लोकप्रिय चलचित्रहरूको जित 
तीनवटा अस्कर जितेको ‘फ्रान्केन्स्टाइन’ र दुईवटा जितेको ‘के–पप डेमन हन्टर्स’ दुवै नेटफ्लिक्सका फिल्म हुन् । यी फिल्महरू हलमा कम लागे पनि लाखौँ मानिसले हेरे, मन पराए र यिनले अस्कर जितोस् भन्ने चाहन्थे । यस्तै, एमी म्याडिगनले डरलाग्दो फिल्म ‘वेपन्स’बाट उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितिन् भने ब्राड पिटको ‘एफ वन’ले उत्कृष्ट ध्वनिको पुरस्कार पायो । ‘अवतारः फायर एन्ड एश’ले उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड जित्यो । यसको अर्थ, अवार्डहरू बौद्धिक र कलात्मक चलचित्रले मात्र पाएनन्, ती व्यापारिक रूपमा पनि सफल थिए । 
पार्टीको जस्तो माहोल 
कोनान ओब्रायनले गत वर्षको तुलनामा यस पटक धेरै राम्रोसँग कार्यक्रम सञ्चालन गरे । उनले ठट्टा, आत्म–आलोचना र थोरै राजनीतिक विषयवस्तुलाई उत्सवको रूपमा निकै राम्रोसँग प्रस्तुत गरे । उत्कृष्ट गीतका लागि मनोनयनमा परेका ‘आई लाइट टु यू’ र ‘गोल्डेन’ (जसले अवार्ड पनि जित्यो) को सानदार प्रस्तुतिले माहोललाई थप रमाइलो बनायो । कार्यक्रममा भोग म्यागजिनकी पूर्व सम्पादक अन्ना विन्टोरले एनी ह्याथवेलाई वास्ता नगरेको अभिनय देखाइन्, जसले ‘द डेभिल वेयर्स प्राडा’मा मेरिल स्ट्रिपको पात्रका लागि उनी नै प्रेरणा थिइन् भन्ने पुष्टि ग¥यो । त्यस्तै ‘ब्राइड्समेड्स’का कलाकारहरूको पुनर्मिलनले १५ वर्षपछि पनि उनीहरूको जोडी उत्तिकै रमाइलो छ भन्ने देखायो । ‘अब यसको अर्को भाग बनाउने बेला भएन र ?’ भन्दै केहीले टिप्पणीसमेत गरेका थिए ।
बनेका नयाँ इतिहास 
एकेडेमी अवाड्र्स सुरु भएको झन्डै एक शताब्दी भइसक्दा पनि सिनेमेटोग्राफीमा ओस्कर जित्ने पहिलो महिला अटम डुराल्ड अर्कापा (‘सिनर्स’का लागि) बनिन् । यो ऐतिहासिक क्षणमा उनले डल्बी थिएटरमा उपस्थित सबै महिलालाई उठेर यो खुसी बाँड्न आग्रह गरिन् । यस्तै, जेसी बकले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने पहिलो आयरल्यान्डकी कलाकार बनिन् । उनले ‘ह्यामनेट’बाट पुरस्कार चुमेकी थिइन् ।
यस पटक २४ वर्षपछि पहिलो पटक ‘कास्टिङ’ विधामा पनि नयाँ अवार्ड थपियो । ‘वन ब्याटल आफ्टर एनोदर’का लागि कासान्ड्रा कुलुकुन्डिसले यो पुरस्कार जितिन् । समावेशिताको सन्दर्भमा पनि राम्रा संकेतहरू देखिए । ‘सिनर्स’मा दुईवटा मुख्य भूमिका निभाएका माइकल बी जोर्डन उत्कृष्ट अभिनेताको अस्कर जित्ने छैटौँ अश्वेत अभिनेता बने । रायन कुग्लर उत्कृष्ट मौलिक पटकथा जित्ने दोस्रो अश्वेत लेखक दरिए ।
भावपूर्ण ‘इन मेमोरियम’ 
भर्खरै केही चर्चित हस्तीहरूलाई गुमाउनुले एउटा युगकै अन्त्य भएको महसूस गराएको थियो । आयोजकहरूले उनीहरूलाई सम्झनका लागि यस पटक पर्याप्त समय र सम्मान दिए । बिली क्रिस्टलले गत डिसेम्बरमा निधन भएका रब रेइनर र मिशेल सिंगर रेइनरप्रति श्रद्धाञ्जली अर्पण गरे । ¥याचेल म्याकएडम्सले क्याथरिन ओ’हारा र डायन किटनलाई सम्मान गरिन् । बार्बरा स्ट्राइसेन्डले रोबर्ट रेडफोर्डसँगको आफ्नो मित्रताको सम्झना गर्दै ‘द वे वी वेर’ गीत गाएर यो खण्डको अन्त्य गरिन् । यो यस्तो क्षण थियो जुन अस्करमा मात्र सम्भव छ ।
शान्त र सुव्यवस्थित समारोह 
केही साना प्राविधिक समस्या र अलि खल्लो लाग्ने ठट्टाहरू भए पनि समग्रमा समारोह सहज रूपमा सम्पन्न भयो । उत्कृष्ट चलचित्रको खाम साटिएन र कसैले कसैलाई थप्पड पनि हानेन । उत्कृष्ट लघु चलचित्र विधामा दुई विजेताबीच बराबरी हुनु एउटा ठूलो आश्चर्य थियो, जसलाई प्रस्तोता कुमैल नान्जियानीले निकै आत्मविश्वास र ठट्टाका साथ सम्हाले । यसले अस्कर नियमित हेर्ने दर्शकहरूलाई एउटा कुरा सोच्न बाध्य बनायो, शायद आयोजकहरूलाई आफ्नो काम राम्रोसँग थाहा छ ।

उत्कृष्ट फिल्मः वन ब्याटल आफ्टर एनोदर
उत्कृष्ट निर्देशकः पल थोमस एन्डरसन (वन ब्याटल आफ्टर एनोदर)
उत्कृष्ट कलाकारः जेसी बकली (ह्यामनेट) र माइकल बी. जोर्डन (सिनर्स)
सहायक कलाकारः सिन पेन (वन ब्याटल आफ्टर एनोदर) 
उत्कृष्ट पटकथाः वन ब्याटल आफ्टर अनोदर (उपन्यासमा आधारित) र रायन कूग्लर (सिनर्स)
उत्कृष्ट संगीतः सिनर्सबाट लुडविग गरान्सन
उत्कृष्ट छायाकारः सिनर्सबाट अटुम डुराल्ड अर्कापा
उत्कृष्ट सम्पादनः वन ब्याटल आफ्टर एनोदरबाट एन्डी जुर्गेन्सेन 
उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मः सेन्टिमेन्टल भ्यालु
उत्कृष्ट एनोमेटेडः के पप डेमन हन्टर्स
डकुमेन्ट्रीः मि. नोबडी अगेन्स्ट पुटिन
उत्कृष्ट ध्वनिः एफ वन
उत्कृष्ट भिजुअल इफेक्टः अवतारः फायर एन्ड एश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्