नेभिगेशन
राजनीति
नेता मीन विश्वकर्मा भन्छन् –

‘अदालतको निर्णय नआउन्जेल कांग्रेसमा दुई सभापति’

काठमाडौं । कांग्रेस नेता मीन विश्वकर्माले पार्टीभित्रको वर्तमान कानुनी र प्राविधिक अवस्थालाई विश्लेषण गर्दै हाल कांग्रेसमा दुई सभापति रहेको बताएका छन् । पार्टीमा सम्पन्न विशेष महाधिवेशन र त्यसपछिको विवादका सन्दर्भमा स्पष्टीकरण दिँदै उनले यस्तो धारणा राखेका हुन् ।
केही दिनअघि सञ्चारमाध्यममा आफूले व्यक्त गरेको धारणामाथि भएका टिप्पणीहरूको जवाफ दिँदै नेता विश्वकर्माले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी भूमिका खेलेको प्रष्ट पारेका छन् ।  उनले भनेका छन्, ‘विशेष महाधिवेशनको वैधानिकता र मौजुदा कार्यसमितिको अस्तित्व सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । यस्तो अवस्थामा दुवै पक्षको दाबी कायम रहेकाले कानुनी र राजनीतिक रूपमा दुई सभापति मान्नु नै अहिलेको सत्य हो,’ उनले संवाददातासँग भने । 
कांग्रेसमा नियमित महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति रहेकै बेला पुस अन्तिम साता विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । उक्त समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । तर, तत्कालीन सभापति देउवा निटकहरुले भने आयोगको निर्णय जालसाजीपूर्ण भएको दाबी गर्र्दै आएका छन् । 
उनीहरुले विशेष महाधिवेशन नै अवैधानिक भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । विशेष महाधिवेशन पक्षधरले भने कांग्रेसमा गगन थापा मात्रै अहिले एकल सभापति रहेको दाबी गर्ने गरेका छन् । 
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए पनि त्यसविरुद्ध नेतृत्व तह अदालत गएकाले हालसम्म अन्योल कायमै रहेको तर्क गर्दै उनले दुवै पक्षको अस्तित्वलाई स्वीकार गर्दा मात्र पार्टी एकताको मार्ग प्रशस्त हुनेमा जोेड दिएका छन् । 
अघिल्लो कार्यसमितिका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले हालैको निर्वाचन परिणामबारे चर्चा गर्दै पदीय हैसियत अनुसार सबैले हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । ‘एक पटकको हारले ८० वर्षको इतिहास बोकेको कांग्रेस सकिँदैन,’ उनले भने, ‘परिणामलाई स्वीकार गरेर अब बृहत्तर एकतामा लाग्नुको विकल्प छैन ।’ आफ्नो अभिव्यक्तिको विरोधमा सामाजिक सञ्जालमा भइरहेका गालीगलौजप्रति लक्षित गर्दै उनले यस्तो व्यवहार कांग्रेसी संस्कार नभएको टिप्पणी गरे ।  
मौन छन् गगन 
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा फागुन २१ को चुनावी परिणामपछि मौन देखिएका छन् । विशेष महाधिवेशनपछि ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित कांग्रेस थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको थियो । तर, कांग्रेस संसद्मा ३८ सिटमा सीमित हुन पुगेको छ । भावी प्रधानमन्त्री भनिएका थापा सर्लाही–४ बाट पराजित हुँदा महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरेसहित उम्मेदवार बनेका सहमहामन्त्रीहरु पराजित भए । कांग्रेसले १६५ मध्ये जम्मा १८ सिटमा मात्र जित्यो । 
यसअघिको संसद्मा ८९ सिटसहित पहिलो रहेको कांग्रेस कमजोर बनेपछि देउवा निकटले सभापति थापाले हारको जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।  चुनावको बेलामा आफ्नो सामाजिक सञ्जालमा सक्रिय देखिएका सभापति पराजयपछि भने सार्वजनिक मञ्चमा देखिएका छैनन् । हारपछि राजीनामा दिँदा उपसभापति विश्वप्रकाश शर्मासँग सल्लाह गरे पनि शर्माले राजीनामा नगर्न सुझाएका थिए । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले सभापतिले राजीनामा दिन नहुने भन्दे छिटै चुनावबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक बस्ने र त्यसपछि पार्टीले आफ्ना धारणा सार्वजनिक गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति