नेभिगेशन
मनोरञ्जन

नयाँ कथामा ‘महाराजा’

लेखक निर्देशक निथिलनले दोस्रो भागका लागि तयार पारेको कथा सुन्न विजय सेतुपति उत्सुक

दक्षिण भारतीय अभिनेता विजय सेतुपति अभिनीत चर्चित फिल्म ‘महाराजा’ को  सिक्वल आउने भएको छ । लेखक–निर्देशक निथिलन समिनाथनले दोस्रो भागको कथा तयार गरिरसकेको र आफू त्यो सुन्न आतुर रहेको सेतुपतिले बताएको भन्दै सिनेमासम्बन्धी भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । निर्माण टोलीका तर्फबाट आधिकारिक घोषणा भने भइसकेको छैन । निर्देशकले दोस्रो भागको कथा तयार गरिसकेको र मुख्य कलाकारस“ग प्रारम्भिक छलफल अघि बढेको खबर बाहिरिएस“गै दर्शकमाझ उत्सुकता छ । पहिलो भागले अप्रत्याशित सफलता हासिल गरेपछि यसको कथा कसरी अघि बढाइन्छ भन्ने चासो छ ।
‘महाराजा’ को पहिलो भाग एउटा साधारण नाईको जीवन वरिपरि घुम्छ, जसको संसार एकाएक अपराध र प्रतिशोधको जालोमा फस्छ । एउटा दुर्घटनामा बाबुछोरीले आफूहरुलाई बचाएको श्रेय एउटा फलामे डस्टबिनलाई दिएका छन्, ‘लक्ष्मी’ नाम दिएर । लक्ष्मी उनीहरुका लागि भगवान सरह हो । घरमा तीन अपरिचित पसे, त्यो फलामे डस्टबिन गायब भयो, खोजीगरिपाउँ भन्दै महाराजा पात्र बनेका सेतुपति प्रहरी चौकीमा पुगेको सामान्य घटनाजस्तो प्रसंगबाट सुरु भएको कथा क्रमशः गहिरो मनोवैज्ञानिक र भावनात्मक तहमा पुग्छ, जहा“ बाबु–छोरीको सम्बन्ध, पीडा र न्यायको खोजी अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्ममा विजय सेतुपतिस“गै अनुराग कश्यपको सशक्त अभिनयले कथालाई थप बलियो बनाएको थियो । विशेषगरी सेतुपतिको संयमित र गहिरो अभिनयले दर्शक र समीक्षक दुवैबाट प्रशंसा बटुलेको थियो । 
बराबर आइरहने सिनेमाका कथाको धारभन्दा ‘महाराजा’ फरक थियो । सुरुवात र अन्त्य सामान्य दर्शकको अनुमानभन्दा पृथक शैलीमा प्रस्तुत गरिएको थियो ।   
फिल्ममा अनुराग खलपात्रका रुपमा देखिएका थिए भने छोरीको भूमिकामा सचना नामिदास थिइन । 
रिलिजपछि फिल्मले बक्स अफिसमा उल्लेखनीय व्यापार गरेको थियो । करिब २० करोड भारुको बजेटमा बनेको यो फिल्मले १९० करोड भारु हाराहारीको व्यापार गरेको थियो । फिल्मको प्रचार उतिसारो थिएन तर घरेलु मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो आम्दानी गर्दै ‘वर्ड अफ माउथ’ का आधारमा फिल्म लामो समयसम्म हलमा टिक्न सफल भएको थियो । उक्त वर्ष उल्लेख्य व्यापार गरेका तमिल फिल्मको सूचीमा थलपति विजयको ’गट’ ४५६ करोड आम्दानी गर्दै पहिलो नम्बरमा रहँदा ’महाराजा’ चौथो स्थानमा थियो । 
समीक्षकहरूले यसको पटकथा, निर्देशन र अप्रत्याशित मोडहरूलाई उच्च मूल्यांकन गरेका थिए, जसले यसलाई वर्षकै उल्लेखनीय फिल्ममध्ये एक बनाएको थियो ।
अभिनेता विजय सेतुपति दक्षिण भारतीय सिनेमामा फरक भूमिकाका लागि परिचित छन् । व्यावसायिक तथा कलात्मक दुवै धारका फिल्ममा सन्तुलन राख्ने उनको क्षमता र जोखिम लिन सक्ने स्वभावले उनलाई ‘एक्टर’को रूपमा अलग पहिचान दिएको छ ।
अब सम्भावित दोस्रो भागले पहिलो कथाको अन्त्यबाट नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ । प्रतिशोधपछि पात्रको मानसिक अवस्था, विगतका घटनाले निम्त्याउने कानुनी वा सामाजिक परिणाम वा नयाँ अपराधसँग जुध्नुपर्ने परिस्थिति जस्ता विषयहरू समेटिँदै कथा अझ गहिरो र व्यापक बन्न सक्ने आकलन गरिएको छ । ‘महाराजा’को पहिलो भाग लेखक–निर्देशक निलिथनको करिअरको दोस्रो फिल्म हो । तेस्रो प्रोजेक्टको तयारीमा रह“दा उनले राम्रो दर्शक प्रतिक्रिया पाएका छन् ।
निथिलन दक्षिण भारतीय फिल्म क्षेत्रका प्रतिभाशाली लेखक–निर्देशक हुन्, जो विशेषगरी थ्रिलर र सामाजिक यथार्थ मिसिएको कथावाचनका लागि चिनिन्छन् । उनले कम बजेटमै प्रभावशाली कथा र अप्रत्याशित मोड प्रस्तुत गर्ने शैली विकास गरेका छन् । ‘महाराजा’ मार्फत उनले व्यापक लोकप्रियता कमाउँदै समीक्षकको प्रशंसा बटुले । उनको निर्देशनमा चरित्रको गहिराइ, सस्पेन्स र भावनात्मक तह सन्तुलित रूपमा प्रस्तुत हुने विशेषता पाइन्छ, जसले उनलाई समकालीन नयाँ पुस्ताका निर्देशकमध्ये अलग पहिचान दिलाएको छ । त्यसैले ’महाराजा–२’ को कथा कस्तो ल्याउलान् भन्ने चासो बढेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्