काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिको प्रभाव नेपाली बजारमा देखिँदा नेपाल आयल निगमको वित्तीय अवस्थामा गम्भीर संकट आउने देखिएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट चैत १ गते प्राप्त पेट्रोल, डिजेल र ग्यासको मूल्यबमोजिम समायोजन नगरिएकाले निगमको घाटा बढ्ने देखिएको हो ।
अहिले कायम रहेको पेट्रोल, डिजेल, मट्टितेल र एपी ग्यासको मूल्यमा बिक्री–वितरण गर्दा १५ दिनमा मात्रै ४ अर्ब रुपैयाँ बढी घाटा हुने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार निगमले समायोजन गरिएको मूल्यमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ बढेर आउँदा पनि स्थानीय बजारका लागि १५ रुपैयाँमात्रै वृद्धि गरिएकाले घाटा बढेको बताए ।
‘पेट्रोलसँगै डिजेलमा ५४ रुपैया र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आएको थियो तर उपभोक्तालाई ठूलो मर्का नपर्ने गरी अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त दर कायम नगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ र ग्यासमा मूल्य नबढाई बिक्री गर्दा घाटा हुने अवस्था आएको हो,’ ठाकुरले भने ।
निगमले १५ दिनका लागि घाटा हुने रकम मूल्य स्थिरीकरण कोषबाट व्यवस्थापन गर्ने गरी आइओसीबाट बढेर आएको भन्दा थोरै मात्रै मूल्य बढाएको थियो । अहिले मूल्य स्थिरीकरण कोषको रकम उपयोग हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएपनि अबको दुई सातापछि आउने नयाँ मूल्य सूचमा हटाई इन्धनको समेत मूल्य बढेर आउने हुँदा त्यो मूल्यवृद्धि निगमलाई धान्न कठिन हुने प्रवक्ता ठाकुरले बताए ।
उनका अनुसार अहिलेको घाटाको दर बढ्दै गएमा निगमको मूल्य स्थिरीकरण कोषमा रहेको करिब २० अर्ब रुपैयाँले दुई महिना पनि धान्ने छैन । ‘मार्च ३१ तारिखमा हवाई इन्धन र ग्यासको मूल्य थप बढेर आउने निश्चित छ, त्यसपछि घाटाको आकार अझ भयावह हुने देखिन्छ,’ उनले भने ।
निगमले विशेष गरी खाना पकाउने ग्यास (एलपी ग्यास) मा ठुलो नोक्सानी खेपिरहेको छ । अहिले प्रति सिलिन्डर ग्यासमा निगमलाई २१६ रुपैयाँ घाटा छ । पहिले डिजेल र पेट्रोलमा हुने नाफाले ग्यासको घाटा पूर्ति गर्ने गरिएको भए पनि अहिले सबै पेट्रोलियमको आयातमा घाटा चुलिएपछि निगमलाई व्यवस्थापनमा सकस परिरहेको ठाकुरले बताए ।
बजारमा ग्यासको आपूर्ति सामान्य रहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण कृत्रिम अभाव देखिएको निगमले जनाएको छ । फागुनमा मात्रै निगमले ५१ हजार मेट्रिक टन ग्यास भिœयाएको छ, जुन सामान्य खपतभन्दा बढी हो । सञ्चार माध्यममा आएको ग्यास अभावको समाचारले उपभोक्ता त्रसित हुँदा एउटै घरमा ७ देखि २० वटासम्म सिलिन्डर थुपार्ने क्रम बढेकाले बजारमा संकट देखिएको निगमले जनाएको छ । निगमले ग्यास जस्तो अति प्रज्वलनशील पदार्थ घरमा सञ्चित गरेर राख्दा ठुलो दुर्घटना निम्तिन सक्ने जोखिम बढ्ने हुँदा त्यसो नगर्नसमेत उपभोक्तामा आग्रह गरेको छ ।