नेभिगेशन
राजनीति

रास्वपाका सांसदहरुलाई प्रशिक्षण

पाँच वर्ष रास्वपाले सत्ता सञ्चालन गर्दा प्रतिपक्षलाई प्रभावकारी हुने मौका नदिनेगरी काम गर्ने वातावरण बनाउने सल्लाह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण मंगलबारबाट ललितपुरमा शुरु भएको छ । संसद् प्रवेशअघि के गर्ने र के नगर्ने सिकाउन ग्वार्कोस्थित एक होटलमा थालिएको प्रशिक्षणमा पहिलो दिन  प्रत्यक्ष र समाुनपातिकका सांसद् उपस्थित भए । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएनन् ।  सभापति लामिछाने र वरिष्ठ नेता शाह स्वास्थ्यका कारण मंगलबार कार्यक्रममा सहभागि नभएको बताइएको छ । 
पार्टीका नवनिर्वाचित सांसदहरूलाई रास्वपाले दुईदिने अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ ।
पहिलो दिनको भेलामा बोल्दै उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताए । आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।  ‘आन्तरिक द्वन्द्व, आन्तरिक खिचातानी, आन्तरिक लडाइ, खुट्टा तान्ने प्रवृत्तिबाट हामी धेरै टाढा जानुपर्नेछ । यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ । जनतालाई नयाँ सन्देश दिनुपर्नेछ । न कि अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने अवस्था सिर्जना होस् । त्यो काम सधैै सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई दौडाएर सम्भव छैन,’ उनले भने । 
उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । उनले पार्टीका सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गरे । उद्घाटन सत्रमा पार्टीका नेताहरूले पदको गरिमा बढाउनेगरी काम गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । 
अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आफूहरु जितेर रमाइलो गर्न नआएको भन्दै पदको गरिमा बढाउन थप मिहिनेत गर्नुपर्ने बताए । ‘संविधानप्रति बफादार हुने र संविधानको खुड्किलामा टेकेर काम गर्ने’ भन्दै उनले  संविधान, कानुन, पार्टीको बाचापत्र अध्ययन गर्न उनले नवनिर्वाचित सांसदलाई आग्रह गरे । 
बुधबार पनि अभिमुखीकरण चल्नेछ । विज्ञहरूले संसदीय अभ्यास, विधायकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयमा प्रशिक्षण दिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति