नेभिगेशन
प्रदेश

कृषिप्रधान देशमा बिउ आयात बर्सेनि वृद्धि

धुलिखेल । व्यासायका विभिन्न क्षेत्र बिस्तार भए पनि सरकारले भन्दै आएको छ – नेपाल कृषि प्रधान देश हो । तर, न कृषि उत्पादनले आन्तरिक माग धान्छ न त बिउबिजनले नै पुग्छ । 
बिउबिजनको आयात हरेक वर्ष बढ्दो क्रममा छ । कृषि विकास कार्यालय काभ्रेले मंगलबार काभ्रे र सिन्धुपाल्चोकका बिउ उत्पादक, व्यवसायी र सरोकारवालाहरूसँगको अन्तक्र्रियामा बिउ जोगाउन जोड दिएको छ । बढ्दो आयातले मुलुकको कृषि क्षेत्रमा दबाब सिर्जना कृषि विज्ञहरुले बताए । 
कृषि विकास प्रमुख कुलप्रसाद दवाडीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा देशभर तरकारीको बीउ १६०.६२ मेट्रिक टन, मकैको बीउ १,१७८.०३ मेट्रिक टन र धानको बीउ १,८५८.६८ मेट्रिक टन आयात भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा क्रमशः २१८.४, २,५४५.५६ र २,२७३.४१ मेट्रिक टन पुगेको छ ।
‘काभ्रे जिल्लामा मात्र गत आर्थिक वर्ष धानको हाइब्रिड बिउ ४३.६२ र उन्नत जात ४६.६४ मेट्रिक टन कारोबार भएको थियो, जबकि आवश्यक ५५३ मेट्रिक टन थियो,’ उनले भने, ‘मकै र गहुँमा पनि त्यस्तै ठूलो अन्तर छ ।’
दवाडीका अनुसार बिउ आयात बढ्नुको मुख्य कारण भनेको स्वदेशी उत्पादन पर्याप्त नहुनु हो । ‘हाम्रो उत्पादन क्षमता आवश्यकता पूरा गर्न पर्याप्त छैन, त्यसैले हामी विदेशी बिउमा निर्भर भयौं । यो अवस्था आर्थिक वर्ष अनुसार निरन्तर बढ्दै गएको छ,’ उनले भने । 
बिउ व्यवसायीहरूले पनि आयात बढ्नुको कारण किसानहरूबीच बिउबिजन चक्रको ज्ञानको कमी र खेती प्रणाली पालनामा कमजोरी रहेको बताएका छन् । एक व्यवसायीले भने, ‘हामीले प्रयोग गर्ने अधिकांश बिउ भारत र चीनबाट आउँछ । स्वदेशी उत्पादन पर्याप्त भए आयात कम हुने थियो । तर, किसानहरू नयाँ बिउ मात्र खोज्छन् र परम्परागत वा स्थानीय बिउको प्रयोग घटेको छ ।’
बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख वेनुप्रसाद प्रसाईंले संसारभर खाद्यान्न बिउको माग बढ्दो रहेको बताए । ‘हामीकहाँ कृषिमा जनशक्तिको अभाव, उत्पादन क्षमताको कमी र गुणस्तरीय अनुगमनको कमीले आयात बढाइरहेको छ,’ उनले भने, ‘किसानहरू गुणस्तरीय बिउ नपाउँदा समस्या भोगिरहेका छन् । हामीले ऐन कानुन पालनामा पनि ध्यान दिनुपर्छ ।’
काभ्रेमा बीउ उत्पादन र आवश्यकताबीच ठूलो अन्तर देखिन्छ । धानको आवश्यकता ५५३ मेट्रिक टन भए पनि उत्पादन ६२ मेट्रिक टन मात्र भयो । गहुँको आवश्यकता १,०६३ मेट्रिक टन, उत्पादन १४.८० मेट्रिक टन भयो । मकैको आवश्यकता ७७१ मेट्रिक टन, उत्पादन २४ मेट्रिक टन छ । यसैगरी कोदो, जौ, फापर, तोरी, आलु, भटमास, मास, चना र गहतको बिउ पनि पर्याप्त छैन ।
दवाडीले किसानहरूलाई रैथाने बीउ संरक्षण र स्थानीय जातका बीउ उत्पादनमा जोड दिन आग्रह गरे । ‘हामीले बजेट अभावका कारण सोचे अनुसार काम गर्न सकेका छैनौं, तर केही मात्रामा भए पनि आयात कम गर्न सकिन्छ,’ उनले भने । 
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले कृषि क्षेत्र  पीडित रहेको जिकिर गरे । ‘बिउमा पनि रासायनिक मल जस्तै अनुदानको नीति ल्याउन राज्यले ध्यान दिनुपर्छ,’ उनले भने, ‘हामी रैथाने बिउ उत्पादनमा किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं । कृषिबाटै देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्