नेभिगेशन
अर्थतन्त्र

अचार बिक्री गरेर मासिक २५ हजार आम्दानी

दाङ । लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उनी अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएकी छन् । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनी बताउँछिन् । आयआर्जनको राम्रो स्रोत भएका कारण अचार व्यवसायलाई १३ वर्षदेखि निरन्तरता दिँदै आएको उनले बताइन् ।
उनी तामा, हरियो खुर्सानी, करेला, मेथी, आँपलगायतका अचार उत्पादन गरेर बिक्री गर्छिन् । अघिपछि भन्दा चाडपर्व र मेला, महोत्सवमा राम्रो बिक्री हुने उनको अनुभव छ । ‘सबैभन्दा धेरै आँपको अचार बिक्री हुन्छ,’ उनले भनिन्, ‘यस व्यसायबाट मासिक २५ हजारभन्दा बढी आम्दानी गर्दै आएको छु ।’ सुरुमा स्वान नेपाल भन्ने संस्थाबाट तालिम लिएर व्यावसायिक रूपमा अचार बनाएर बिक्री गर्दै आएको आशारानी बताउँछिन् ।
उनले अचारअनुसार प्रतिकिलो २५० देखि ५०० रुपैयाँसम्म बिक्री गर्दै आएकी छन् । उनी अचार उत्पादन गरेर बिक्री गर्ने र स्थानीय तहले महिलाका लागि सञ्चालन गरेको तालिममा प्रशिक्षक भएरसमेत जाने गरेकी छन् ।
धेरै महिलाले यससम्बन्धी तालिम लिए पनि उत्पादन गरेर बिक्री गर्न समस्या नहुने उनी बताउँछिन् । उमेरले ४० वर्ष पुगेकी उनलाई परिवारको राम्रो साथ मिलेको छ । उनी पूर्व मुक्तकम्लरी पनि हुन् । आफ्नै व्यवसायमा जोडिएर आयआर्जन गर्न पाउँदा खुसी लागेको उनले बताइन् । लाजाजुनी पूर्व मुक्तकम्लरी अचार उद्योगमार्फत सञ्चालन गरेको अचार व्यवसायका लागि आँप एक वर्षका लागि पहिले नै मौज्दात राख्ने गरेको उनी बताउँछिन् ।
महिला उद्यमीको सीपलाई स्थानीय सरकारले पनि उत्पादित वस्तुको बजारीकरणका लागि पहल गर्न आवश्यक रहेको उनले बताइन् । अन्य महिलाले व्यावसायिकरूपमा अचार उद्योग सञ्चालन गर्ने मन भए पनि आर्थिक समस्याका कारण पछि पर्ने गरेको आशारानीको बुझाइ छ ।
महिलालाई आर्थिकरूपमा सशक्त बनाउन सीपमा जोड्न आवश्यक रहेको उनले बताइन् । आफ्नै गाउँघरमा उत्पादन भएको अचार प्रयोग गर्न आमनागरिकलाई पनि उनको सुझाव छ । ‘हामी कुनै केमिकल प्रयोग गर्दैनौं, हामीले उत्पादन गर्ने अचार राम्रो हुन्छ,’ उनले भनिन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्