नेभिगेशन
साहित्य

मुद्रा राक्षसको सुन्दरता

के तपाइँ लामो वाक्य, कथा कविता एकै बसाइमा विना कुनै गल्ती लेख्न सक्नुहुन्छ ? हातले लेखिँदैन, हिजोआज टाइप गरिन्छ भन्नुहोला । तर, के तपाइँले टाइप गर्दा एउटा अक्षर पनि तलमाथि पर्ने वा छुटने हुँदैन ? नढाँट्नुस्, गल्तीरहित कोही छैन । संसारभरिका मान्छेको टाइपोमा गल्ती हुन्छ । यो मानवीय त्रुटिलाई लिएर अनौठो मान्नुपर्ने केही छैन । जसले विनागल्ती काम गर्छ, उसले कसरी गरेको भन्ने खोजीको विषय बन्छ ।  
अमेरिकाको कनेक्टिकट राज्यस्थित न्यु हेभन सहरमा रहेको येल विश्वविद्यालयको प्रसिद्ध पुस्तकालय बाइनेकी रेयर बुक एन्ड म्यानुस्क्रिप्ट लाइब्रेरीले आयोजना गरेको एउटा प्रदर्शनीले साहित्य जगतमा एक रोचक बहस सिर्जना गरेको छ । साहित्यमा ‘टाइपो’ को गौरवमय इतिहासका गल्तीहरु, जसले पुस्तकको मूल्य बढाए भन्ने विषय बहसमा ल्याएको हो ।
अमेरिका लेखन र मुद्रणको इतिहासमा ‘टाइपो’ (मुद्रण वा टाइपको गल्ती) लाई सामान्यतया एउटा कमजोरी वा त्रुटि मानिन्छ । तर, येल विश्वविद्यालयको बाइनेकी लाइब्रेरीले यसपटक यस्ता ‘गल्ती’हरूलाई कमजोरीका रूपमा होइन, बल्कि साहित्यको एउटा अभिन्न र रोचक इतिहासका रूपमा प्रस्तुत गरेको हो  ।
विशेषगरी सोमबार र मंगलबार सञ्चारमाध्यमहरूले यसलाई ‘एआईको युगमा मानवीय गल्तीको महŒव’ भन्दै समाचार दिएपछि संसारभर यस्तो विषयमा चासो राख्ने साहित्यकर्मीको ध्यानाकर्षण भएको छ । 
‘द आर्ट अफ द एरर ः अ हिस्ट्री अफ लिटरेरी टायपोज’ शीर्षकको प्रदर्शनीमा विश्वका केही प्रसिद्ध लेखकका पाण्डुलिपि र दुर्लभ पुस्तकहरू प्रदर्शन गरिएका छन्, जहाँ एउटा सानो टाइपोका कारण पुस्तकको अर्थ मात्र बदलिएको छैन, बरु ती पुस्तकहरू आज विश्वकै बहुमूल्य संग्रह बनेका छन् ।
प्रदर्शनीको मुख्य आकर्षण सन् १६३१ मा छापिएको कुख्यात ‘विक्ड बाइबल’ छ । उक्त बाइबलको ‘टेन कमान्डमेन्ट्स’ (१० आज्ञा) खण्डमा ‘तिमीले व्यभिचार नगर्नू’ हुनुपर्नेमा ‘नट’ शब्द नै छुटेर ‘तिमीले व्यभिचार गर्नू’ छापिएको थियो । यो गल्तीका कारण तत्कालीन मुद्रकलाई ठूलो जरिवाना गरिएको थियो र धेरै प्रतिहरू जलाइएका थिए । आज यसको बाँकी रहेको एक प्रति प्रदर्शनीको केन्द्रबिन्दु बन्यो ।
त्यस्तै, विलियम शेक्सपियरका ‘फस्र्ट फोलियो’ मा भेटिएका साना हिज्जेका गल्तीहरूले कसरी त्यस समयको सामाजिक र भाषिक अवस्था झल्काउँछन् भन्ने कुरा प्रदर्शनीमा हेरेर सहभागीले बहस गरेका छन् ।
प्रदर्शनीमा जेम्स जोयसको ‘युलिसिस’ र टीएस इलियटको ‘द वेस्ट ल्यान्ड’ का ड्राफ्टहरू पनि राखिए । जोयसले आफ्ना प्रकाशकलाई पठाएका पत्रहरूमा कतिपय टाइपोहरूलाई ‘भाग्यवश भएको गल्ती’ भन्दै नहटाउन आग्रह गरेको तथ्य पनि सार्वजनिक गरिएको छ । आधुनिक कालमा पनि जेके रोलिङको ‘ह्यारी पोर्टर’ को पहिलो संस्करणमा एउटा सानो टाइपोका कारण उक्त पुस्तकको लिलामी मूल्य लाखौं डलर पुगेको उदाहरणले गल्तीको व्यावसायिक शक्तिलाई पनि दर्शाउँछ ।
प्रदर्शनीले मुख्यतया १६औं शताब्दीदेखि २१औं शताब्दीसम्मका मुद्रण गल्ती भएका दुर्लभ पुस्तकहरूलाई समेटेको छ । प्रदर्शनी तीन महिनासम्म चल्ने जनाइएको छ ।
पुस्तकालयका क्युरेटरका अनुसार यो प्रदर्शनीको उद्देश्य मानिसहरूलाई यो बुझाउनु हो कि मानवीय त्रुटि नै सिर्जनाको सुन्दरता हो । आजको एआई र ‘अटो–करेक्ट’ को युगमा पूर्णता (पर्फेक्सन) खोज्दा कतै हामीले मौलिकता त गुमाइरहेका छैनौं भन्ने गम्भीर प्रश्न यसले उठाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्