नेभिगेशन
प्रदेश

बर्सेनि क्षति, बाली बीमामा किसानको चासो शून्य

रौतहट । बर्सेनि प्राकृतिक प्रकोपका कारण ठूलो क्षति बेहोर्दै आएका रौतहटका किसान अझैसम्म बाली बीमातर्फ आकर्षित हुन सकेका छैनन् । सोमबार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानमा मकै, केरा तथा तरकारी बालीमा व्यापक क्षति भएको छ । किसानहरू पुनः चिन्तित छन् ।
सयौं बिघामा लगाइएका बालीमा हावाहुरीले क्षति गरेको छ । विशेषगरी भर्खरै पसाउन थालेका मकै र केराका बोटहरू ढलेपछि उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ । यसले किसानहरूको लगानी डुब्ने अवस्था सिर्जना गरेको छ भने नगद मूल्यमा करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
चन्द्रपुर–३ का किसान सूर्यप्रसाद गौतमले हावाहुरीका कारण आफ्नो केरा खेतीमा लाखौं रुपैयाँको क्षति भएको बताए । उनले विगतका वर्षहरूमा पनि यस्तै प्राकृतिक विपत्तिबाट बाली नष्ट हुँदा राज्यबाट पर्याप्त राहत नपाएको गुनासो गरे । ‘हरेक वर्ष कुनै न कुनै कारणले बाली नोक्सान हुन्छ, तर क्षतिपूर्ति पाउने व्यवस्था प्रभावकारी छैन,’ उनले भने ।
गत वर्ष पनि हावाहुरी, असिना तथा बेमौसमी वर्षाका कारण धान, गहुँ, मकै, केरा र तरकारी बालीमा ठूलो क्षति पुगेको थियो । भिœयाउने तयारीमा रहेका बाली नष्ट हुँदा किसानहरूले ठूलो आर्थिक मार खेप्नुपरेको थियो । तर त्यसबेला पनि राज्यबाट ठोस राहत व्यवस्था हुन सकेको थिएन ।
सरकारले बाली तथा पशुधन बीमामा प्रिमियम अनुदानको व्यवस्था गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हाल ५० लाख रुपैयाँसम्मको बीमामा ८० प्रतिशत, ५० लाखदेखि एक करोड रुपैयाँसम्ममा ६५ प्रतिशत र एक करोडभन्दा माथिको बीमामा ५० प्रतिशतसम्म अनुदान उपलब्ध छ । यसका बाबजुद किसानहरू बाली बीमातर्फ आकर्षित नभएको देखिन्छ । बीमा कम्पनीहरुले पनि जिल्लामा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने प्रयास गरेका छैनन् । 
युनाइटेड अजोड इन्स्योरेन्सका शाखा प्रमुख प्रभु चौधरीका अनुसार पशु बीमा गर्ने किसानको संख्या बढ्दै गएको भए पनि बाली बीमा गर्ने किसान अत्यन्तै कम छन् । ‘वर्षमा एक–दुई जना मात्र किसान बाली बीमा गर्न आउँछन्,’ उनले भने । जानकारीको अभाव र स्थानीय तहबाट पर्याप्त सचेतना नहुनु यसको मुख्य कारण हो ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि समयमै बीमा गर्न किसानहरूलाई आग्रह गरे । उनले पालिकाले बीमा प्रवद्र्धनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्