काठमाडौं । नेपाली राजनीतिमा नयाँ शक्ति रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) अब पूर्ण रूपमा ‘काँचुली फेर्ने’ तयारीमा छ । आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै पार्टी अध्यक्ष रवि लामिछानेले खाका प्रष्ट पारेका हुन् । उनको सम्बोधनले रास्वपाले अबको पाँच वर्षमा पुराना राजनीतिक अभ्यास र संरचनालाई छोडेर परिणाममुखी, अनुशासित र जनमुखी नेतृत्वमा केन्द्रित हुने स्पष्ट संकेत गरेको छ ।
अध्यक्ष लामिछानेले पार्टीको प्राथमिकता अब व्यक्तिगत स्वार्थ नभइ जनताको सेवा, कानुन निर्माण र परिणाममुखी नेतृत्वमा केन्द्रित हुने बताए ।
प्रारम्भिक दिनहरूको संघर्ष सम्झँदै उनले भने, ‘हाम्रो कुरा सुन्न आउनेहरूको संख्या सीमित थियो, तर आज त्यही संख्यामा हामी आफ्नै सांसदहरूसहित कार्यक्रम गर्दैछौँ । यो आकस्मिक होइन, निरन्तर जनसम्पर्क र प्रतिबद्धताको परिणाम हो ।’ जनताबाट प्राप्त अभूतपूर्व विश्वासलाई इतिहासमा दुर्लभ अवसरको रूपमा उनले व्याख्या गर्दै यसलाई केवल चुनावी सफलता नभई जनताको आशा र धैर्यबाट जन्मिएको जिम्मेवारी भएको बताए ।
प्रत्यक्षतर्फ रास्वपा १२५ र समानुपातिकमा ५७ सिट जितेको रास्वपा दुई तिहाइनजिक छ । सरकार बनाउने तयारीमा रहँदा लामिछाने बुधबार जिम्मेवार र संयमित सुनिएका छन् ।
‘अब पुराना ढर्रा, पुरानो सोच र पुरानो शैली छोड्नुपर्ने बेला आएको छ । अब काँचुली फेर्ने समय आएको छ । जनताले अनुहार मात्र होइन, नीति, शैली र परिणाम परिवर्तनको अपेक्षा गरेका छन्,’ सांसदहरूको मुख्य जिम्मेवारीको बारेमा उनले प्रष्ट पारे, ‘हामी यहाँ शक्ति प्रदर्शन गर्न होइन, कानुन निर्माण गर्न आएका हौं । अध्ययन, अनुसन्धान, अनुभव र जनतासँगको सम्बन्धले मात्र तपाईंलाई सक्षम बनाउँछ ।’ रास्वपाले निर्वाचनमा जाँदा नै वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेको थियो । बहुमत पाएर सरकार बनाउने तयारीमा रहँदा पार्टीले अझैसम्म मन्त्रिपरिषद्को ढाचा भने सार्वजनिक गरिसकेको छैन । सहमतिअनुसार शाहले सरकार र लामिछानेले पार्टी चलाउने संकेत देखिएका छन् जसअनुसार लामिछाने आफ्ना सांसदहरुमाझ विगतभन्दा शान्त र सन्तुलित सुनिए । विगतका राजनीतिक विकृतिका घटनाक्रमबाट सतर्क रहन उनले नवनिर्वाचितहरुलाई स्मरण गराए ।
राजनीतिमा देखिएको विकृति, गुटबन्दी र ‘म केन्द्रित राजनीति’को खतरा विषयमा उनले कडा चेतावनी दिए । ‘यदि हामी ‘म’ केन्द्रित सोचबाट माथि उठ्न सकेनौं भने हाम्रो अवस्था पुराना दलभन्दा खराब हुनेछ,’ उनले भने । सांसदहरूलाई देश केन्द्रित सोच अपनाउन र स्वार्थ समूहको दबाबमा नपर्न उनले सतर्क गराए । जनताको नजिक रहनु, निरन्तर संवाद र सेवा दिनु पर्ने उनले बताए । ‘चुनावमा मात्र देखिने नेतृत्व हुँदैन, जनताको फोन नउठाउने स्थिति आयो भने त्यो हाम्रो सबैभन्दा ठूलो असफलता हुनेछ,’ उनले भने । अनुशासन र जिम्मेवारीको महŒवमा उनको विशेष जोड थियो । ‘स्वतन्त्रता र अनुशासनबीचको पातलो रेखा नाघ्दा अराजकता सुरु हुन्छ । पार्टी अनुशासनमा स्पष्ट र कडा रहनेछ,’ उनले भने ।
समावेशी विकास र सामाजिक न्यायका पक्षमा उनले धारणा राख्दै भने, ‘सडक, पुल र भवन मात्र विकास होइन, समानता, अवसर र न्याय बिना स्थायी परिवर्तन सम्भव छैन । हामीले आफ्नो प्रयासले यस्तो समाज बनाउनुपर्छ जहाँ सबैले जीवनको सम्मान अनुभव गरोस्,’ उनले भने, ‘मुलुक अब राम्रो हातमा छ । हामी जनताको मतलाई प्रेम, करुणा, चनाखोपना र जिम्मेवारीका साथ प्रयोग गर्नेछौं ।’