नेभिगेशन
राजनीति

कांग्रेस सभापति थापाद्वारा राजीनामा

औपचारिक रुपमा राजीनामा आएको छैनः प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै थपाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको बताइएको छ ।

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्ने सम्भावना न्यून रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यता, कांग्रेस प्रवक्ता देवराज चालिसेले औपचारिक रुपमा सभापति थापाको राजीनामा नआएकाे बताए । उनले राजीनामाको विषय केन्द्रीय समितिको बैठकले मात्रै टुंगो लगाउन सक्ने न्युज २४ दैनिकलाई बताए । 

यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति