काभ्रेपलाञ्चोक । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेका दुई वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिस्पर्धी दलहरुसँग लामो मतान्तरले जिते । क्षेत्र नम्बर १ मा रास्वपाका मधुकुमार चौंलागाईं र क्षेत्र नम्बर २ मा बदन भण्डारीले फराकिलो मतान्तरले जिते । यसअघि नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्र लगायतको गठबन्धनबाट माओवादीका सूर्यमान दोङले जितेको क्षेत्र नम्बर १ मा यो पटक रास्वपाले जितेको हो भने सोही गठबन्धनलाई पाखा लगाउँदै दुई पटक एमालेका प्रभावशाली मानिएका नेता गोकुल बाँस्कोटाले जितेको क्षेत्र नम्बर २ मा पनि यस पटक रास्वपाले अत्यधिक मतले जित्यो । यी दुवै क्षेत्रमा नेपाली कांग्रेस दोस्रो हुँदा एमाले तेस्रो बन्यो ।
जनताले अत्यधिक मतले विजयी गराएपछि यतिबेला दुवै सांसदहरु आ–आफ्ना क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दै धन्यवाद ज्ञापन गरिरहेका छन् । उनीहरु जहाँ जहाँ पुग्छन्, मतदाताहरुले पुराना दलहरुले जनविश्वास गुमाएकाले नयाँ दल रोज्नु परेको बताइरहेका छन् । उनीहरु निर्वाचित जनप्रतिनिधिसँग आफ्ना पुराना समस्याहरु खुलेरै पोखिरहेका छन् ।
काभ्रे क्षेत्र नम्बर २ का सांसद भण्डारीले आफ्नो क्षेत्रका सबैजसो पालिकाका मतदाताहरुसँग भेटघाट गरिसकेको बताए । जहाँ पुग्यो, त्यहाँका नागरिकले आफूसँग ठूलो अपेक्षा राखेको र सोही अनुसार काम गर्ने भण्डारीले बताए । विभिन्न वडा र टोलहरुमा पुगेका भण्डारीलाई मतदाताहरुले किसानका समस्या धेरै भएको गुनासो पोखेका छन् ।
उनीहरुले किसानले समयमा रासायनिक मल नपाएको, पाए पनि सीमित मात्र पाइएको, दुःख गरेर उत्पादन गरेका तरकारी र दूधले उचित मूल्य नपाएको र सिँचाइको समस्या धेरै भएको लगायतका गुनासो सुनाए । त्यस्तै यसअघि पनि किसानका समस्या समाधान गर्ने नेताहरुले आश्वासन दिए पनि पछि उनीहरु कहिल्यै गाउँ नफर्केको गुनासो पनि थपेका थिए ।
किसानका गुनासाका पोका लिइसकेपछि उनीहरुका समस्या समाधान गर्ने गरी कार्यक्रमहरु ल्याउने बदनको योजना छ । सबैजसो किसान मतदाताहरुको उस्तै गुनासो र समस्या सुनेपछि सांसद भण्डारीले देश नै कृषिप्रधान रहेकाले बहुसंख्यक किसानका समस्याहरुमा आफू पनि चिन्तित रहेको बताए । उनले आफूनो गाउँ र आफू पनि किसान परिवारको भएकाले किसानका मुद्दा आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । भण्डारीले आफ्नो क्षेत्रमा कृषि र पर्यटनको राम्रो सम्भावनाका भूमि भएकाले यसबाट समग्र जिल्लाले नै राम्रो फाइदा लिन सक्ने अवस्था रहे पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै अब आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सडक, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्याहरु पनि धेरै रहेकाले सबैलाई विस्तारै धेरै समस्या भएका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने उनको भनाइ थियो । उनले क्षेत्र नम्बर २ मा ५३ हजार ३४४ मत ल्याएर जितेका थिए । जहाँ उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत मात्र ल्याए ।
को हुन् भण्डारी ?
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–२ सिम्थलीमा जन्मिएका बदन भण्डारी इमान्दार, कर्मठ र जनमुखी नेतृत्वका रूपमा परिचित छन् । न्यूनवर्गीय परिवारबाट संघर्ष, मिहिनेत र आत्मविश्वासका साथ आफ्नै खुट्टामा उभिन सफल भण्डारी यसअघि एक स्थापित ई–कमर्श व्यवसायी, अनुभवी मिडियाकर्मी तथा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित थिए ।
विद्यालय जीवनदेखि नै कक्षाको प्रथम हुने भण्डारीले काठमाडौँस्थित कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कबाट स्नातक अध्ययन पूरा गरेका छन् । केही समय मिडिया क्षेत्रमा कार्य गर्दै समाज, राजनीति र जनजीवनको गहिरो बुझाइ हासिल गरेका उनको अनुभव बहुआयामिक छ ।
सामाजिक सेवामा पनि भण्डारी अग्रपंक्तिमा रहँदै आएका छन् । लायन्स क्लबमार्फत २०७२ सालदेखि निरन्तर सामाजिक सेवामा संलग्न उनी भूकम्प, कोरोना महामारी, बाढीपहिरो लगायतका विपद्का समयमा पीडितको सेवामा सक्रिय रहे । उनले रक्तदान कार्यक्रम, वृक्षारोपण तथा वातावरण संरक्षण अभियानसँगै वृद्धाश्रम, बालआश्रम र विभिन्न सामाजिक संस्थामा सहयोग गर्दै आएका छन् । विपन्न, सीमान्तकृत र कम अवसर पाएका समुदायको उत्थान उनको निरन्तर प्राथमिकतामा रहँदै आएको छ ।
राजनीतिक रूपमा विगत डेढ दशकदेखि सक्रिय भण्डारी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभागको सचिवका रूपमा कार्यरत छन् । यसअघि एमाले र एकीकृत समाजवादीमा रहेका उनी यसपटक काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार रहँदै विजयी भए । यसका साथै उनी जनताको आवाज संसद्सम्म पु¥याउने उद्देश्यसहित आफू सक्रिय राजनीतिक यात्रामा रहेको बताउँछन् ।
जनताको पीडामा साथ दिने व्यावहारिक नेतृत्व, सेवा, पारदर्शिता र उत्तरदायित्वमा आधारित राजनीति उनको मुख्य प्रतिबद्धता हो । सामाजिक न्याय, अवसरको समानता र समावेशी विकासमा विश्वास गर्ने भण्डारी युवा, श्रमिक तथा उपेक्षित समुदायको आवाज बुलन्द गर्ने संकल्पका साथ अघि बढिरहेका छन् ।
भण्डारीको मुख्य उद्देश्य जनमुखी, उत्तरदायी र पारदर्शी शासन प्रणाली स्थापना गर्नु, स्थानीय आवश्यकताअनुसार विकास र रोजगारी सिर्जना गर्नु, युवालाई उद्यमशीलता र अवसरसँग जोड्ने नीति अघि बढाउनु तथा समाजका सबै वर्गका लागि न्याय र सम्मान सुनिश्चित गर्ने राजनीति गर्नु रहेको बताउँछन् । देश परिवर्तन नयाँ पुस्ताबाट मात्र सम्भव रहेको दाबीसहित आफू निर्वाचनमा होमिएको उनको भनाइ थियो । ३३ वर्षीय भण्डारी यतिबेला काभ्रे क्षेत्र नम्बर २ मा आकर्षणको केन्द्रमा छन् । उनले यस निर्वाचनमा अनुभवी मानिएका पुराना दलका शीर्ष नेताहरुलाई पाखा लगाएका छन् ।
उता क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले पनि आफू विजयी भएपछि जनताका समस्यामा केन्द्रित भएर काम गर्ने योजना बनाएको बताए । पुराना र स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई निकै पछाडि पार्दै चौलागाईंले ‘घण्टी’ को वर्चस्व काभ्रेमा पनि स्थापित गरेका थिए । चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गरेका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४५२ मतान्तरले पराजित गरेका हुन् । मुक्तानले १९ हजार १६६ मत प्राप्त गरे ।
चौलागाईंको जितले काभ्रेको परम्परागत राजनीतिक समीकरणलाई पूर्णरूपमा बदलिदिएको छ । स्थानीय तहको निर्वाचनमा देखिएको दलगत पकडलाई यसपटक रास्वपाको ‘लहर’ ले पखालिदिएको छ । विजयी भएपछि प्रतिक्रिया दिँदै चौलागाईंले यो जित काभ्रेली जनताको सुशासन र समृद्धिको चाहनाको प्रतिफल भएको बताए । उनले अबको कार्यकाल जनताको सेवक बनेर विकास निर्माणमा केन्द्रित हुने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
को हुन् चौलागाईं ?
काभ्रेपलाञ्चोकको चौरीदेउराली–५ मा जन्मिएर समाज, न्याय र विधिको शासनलाई जीवनको मूल दर्शन बनाएको नाम हो, अधिवक्ता मधुकुमार चौंलागाईं । उनी कानूनी पेशामा मात्र सीमित छैनन् । उनी संविधान, लोकतन्त्र र जनअधिकारलाई व्यवहारमा उतार्न राजनीतिक जिम्मेवारी लिन अघि सरेका सचेत र अनुभवी व्यक्ति पनि हुन् ।
२०४८ सालमा पब्लिक ल फर्ममा अभियोजकका रूपमा सेवा सुरु गरेका चौलागाईंले फौजदारी न्यायप्रणाली, राज्यको अभियोजन संयन्त्र र अदालतको व्यवहारिक अभ्यासलाई गहिरोसँग बुझे । अभियोजन सेवामा रहँदा उनले राज्य र नागरिकबीचको न्यायिक सन्तुलन कति संवेदनशील हुन्छ भन्ने अनुभूति गरे, जसले उनलाई पछि विधिको शासनलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने निष्कर्षमा पु¥यायो ।
२०६० सालमा पार्वती प्रिन्टर्स एण्ड ट्रेड कन्सर्न स्थापना गरी उद्यमशीलता र व्यवस्थापनको अनुभव हासिल गरेका चौलागाईंले २०७१ सालमा ‘न्यू हाम्रो ल फर्म’ स्थापना गरे । उक्त फर्ममार्फत उनले सर्वसाधारण, श्रमिक, महिला, पीडित तथा विपन्न समुदायलाई न्यायमा पहुँच दिलाउने काम गर्दै आएका छन् । अपिल अदालत बार एशोसिएसनमा काउन्सिलरको जिम्मेवारी सम्हाल्दै उनले कानूनी पेशाको संस्थागत सुदृढीकरण र अधिवक्ताको व्यावसायिक मर्यादाका लागि समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सांसद चौलागाईं नेपाली न्यायालयमा स्थापित केही महŒवपूर्ण संवैधानिक नजिरसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । उनको पहलमा नेपालको बैंकिङ तथा वित्तीय प्रणाली सुधारका लागि नियमावली जारी गर्न सर्वोच्च अदालतबाट निर्देशक आदेश प्राप्त भएको थियो । यसले वित्तीय क्षेत्रमा पारदर्शिता, नियमन र जवाफदेहीलाई संस्थागत गर्न मद्दत पु¥यायो । उनी भन्छन्, ‘मेरालागि राजनीति नारा होइन, नीति र परिणाममा केन्द्रित छ ।’
द्वन्द्वकालपछिको संवेदनशील समयमा ‘ज्वाइन्ट क्याम्पेन फर पिस’मा स्वयंसेवक रिपोर्टरका रूपमा काम गर्दै उनले शान्ति, मेलमिलाप र सामाजिक सद्भावका पक्षमा आवाज उठाए । यही अनुभवले उनलाई राजनीति द्वन्द्वको होइन, संवाद र समाधानको माध्यम हुनुपर्छ भन्ने सोचमा दृढ बनायो । कानूनी ज्ञानसँगै वार्ता, नेतृत्व र संगठन व्यवस्थापनमा दक्ष उनी नीति बनाउने र कार्यान्वयन गराउने क्षमता बोकेका व्यक्ति मानिन्छन् ।