नेभिगेशन
राजनीति

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्री नियुक्तिका लागि बाटो खुल्यो

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाएको छ । शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन् । आयोगले प्रतिवेदन बुझाएस“गै नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बाटो खुलेको छ । 
राष्ट्रपति पौडेलले सफलतापूर्वक निर्वाचन सम्पन्न हुँदा निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएकोे अनुभूत गरेको बताएका छन् । कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागिपरेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन् । आयोगले बिहीबार नै समानुपातिकतर्फका १ सय १० सांसदहरूलाई प्रमाणपत्र वितरण गरेस“गै २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन प्रक्रिया पूरा भएको हो । 
आयोगले औपचारिकरूपमा प्रतिवेदन बुझाएसँगै अब नवनिर्वाचित सांसदहरूको शपथ र सरकार गठनको बाटो खुलेको छ । संसद् सचिवालयले आगामी बिहीबार चैत १२ गते सांसदहरूको शपथ ग्रहण समारोह आयोजना गरेको छ ।
शपथपश्चात १८२ सीटसहित दुई तिहाइ नजिक पुगेको रास्वपाले एकल सरकार बनाउने निश्चित भइसकेको छ । संविधानको धारा ७६ (१) बमोजिम रास्वपाले दलको बैठक बोलाएर संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्छ । रास्वपाले संसदीय दलको नेता चयन गरेमा राष्ट्रपतिले सांसदको सपथ अघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति