नेभिगेशन
राजनीति

थापाको राजीनामा ‘अस्वीकृत’ गर्न कांग्रेस बैठक

दुई सातापछि हुने चुनावी समीक्षामा कांग्रेसले पराजयको कारण केलाउने, सभापति थापालाई निष्क्रिय हुन नदिने नीति

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजयपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा फागुन २१ को चुनावमा बेहोर्नुपरेको पराजयको समीक्षा र सभापति गगन थापाले दिएको राजीनामाका बारेमा छलफल हुनेछ । कांग्रेसले निर्वाचनमा अनपेक्षित पराजय बेहोरेको दुई सातापछि समीक्षा गर्न लागेको हो । 
सभापति थापाले फागुन २१ को चुनावमा बेहोरेको पराजयको जिम्मा लिँदै बुधबार पदबाट राजीनामा दिएका थिए । थापाले  ‘राजीनामाको निर्णय पराजित मानसिकताको उपज नभएको’ भन्दै जिम्मेवारीबोध भएको बताएका छन् । उनले उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामापत्रमा भनेका छन्, ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो ।’  राजीनामा पत्रमा थापाले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको बताएका छन् । 
‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ थापाले भनेका छन्,‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकस“ग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप ऊर्जाका साथ संलग्न रहनेछु ।’ पार्टीका विभिन्न तहमा रहेको व्यक्तिहरू समर्थक र शुभेच्छुकहरूले पठाइरहेका सन्देशले आफूलाई ऊर्जा दिइरहेको भन्दै उनले आफूप्रतिको विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा प्रष्ट रहेको बताएका छन् । 
उसो त कांग्रेसभित्र सभापति थापाको नेतृत्वमा पार्टीले चुनावमा हार बेहोरेकाले त्यसको जिम्मा लिँदै राजीनामा दिनुपर्ने आवाज उठेको थियो । पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरुले चुनावमा पार्टी पराजय भएपछि थापालाई सभापति बनाउने विशेष महाधिवेशनको औचित्य सकिएको दाबी पनि गरेका छन् । तर, थापा निकटहरु भने अहिलेको पराजयको दोष थापालाई दिन नमिल्ने भन्दै राजीनामाको विपक्षमा उभिएका थिए ।
उपसभापति विश्वप्रकाश शर्माले भने थापाको राजीनामा स्वीकृत नहुने संकेत गरेका छन् । उनले केन्द्रीय समिति बैठकमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ उपसभापति शर्माले भनेका छन्, ‘बैठकमा प्रारम्भीक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ।’ विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा बनेको सिंगै केन्द्रीय समिति थापाको राजीनामाको पक्षमा छैनन् । कांग्रेसका एक पदाधिकारीका अनुसार शुक्रबारको बैठकले राजीनामा अस्वीकृत गरेपछि थापानै पुनः सभापतिका रुपमा फर्कनेछन् । 
पूर्वसंस्थापन समूहका नेताहरुले भने सभापति थापाले राजीनामाको नाटक गरेको टिप्पणी गरेका छन् । नाम नलेख्ने सर्तमा देउवा निटक एक नेताले भने, ‘राजीनामा बैठकमा आउनुअघि नै अस्वीकृत गर्छौं भनेर स्वयं उपसभापति भन्दैहुनुहुन्छ । यो नाटक मञ्चन भन्दा अरू केही होइन ।’ उनले चुुनावको परिणाम आएसँगै विशेष महाधिवेशनको पनि औचित्य सकिएको भन्दै  आफूहरुले सर्वोच्चको फैसला पर्खिरहेको बताए । थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा रहँदा देउवा पक्षले दुवैलाई कार्बाही घोषणा गरेको थियो । तर, विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष पछाडि हट्न बाध्य बनेको थियो । 
आयोगको निर्णयलाई चुनौती दिँदै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा संस्थापनका नेताहरु अदालत गए पनि रिट विचाराधीनमा परेर छिनोफानो अझै भइसकेको छैन । त्यसो त देउवा पक्षका नेताहरुलाई पनि उम्मेदवारीको टिक वितरणमा थापा नेतृत्वले नसमेटेको होइन । विगतमा एमाले–कांग्रेस गठबन्धन सरकारले मतदातामाझको खराब छबिलाई थापा नेतृत्वको नयाँ कार्यसमितिले सफा गर्नै सकेन, जसको परिणाम एमालेले ठूलो मूल्य चुकायो, कांग्रेसलाई पनि चुनावमा ठूलो नोक्सान भएको हो ।   
विशेष महाधिवेशनको विपक्षमा उभिएका पूर्वप्रचार विभाग प्रमुख, मीन विश्वकर्माले पदीय जिम्मेवारीअनुसार सबैले पराजयको जिम्मा लिनुपर्ने भन्दै पार्टी एकतामा जोड दिएका छन् । ‘एक निर्वाचनमा हार व्यहोर्दैमा ८० वर्षे अनुभव वोकेको कांग्रेस सकिँदैन । प्रक्रियामा सामोल भएपछि परिणाम स्वीकार्नु पर्छ,’ उनले भने,‘हिजो जसरी सबैलाई रूख चिन्हमा गोलबद्ध गर्न भूमिका खेले । अब पार्टीको बृहत्तर एकताका लागि पुनः लागिरहनेछु ।’
०७९ मा ८९ सिट सहित संसद्को पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट मात्रै जितेको छ । ०४८ यता भएका ७ वटा निर्वाचनमा कांग्रेस यसपटक जस्तो कमजोर संसदीय अंकगणितमा पहिला भएको थिएन । ‘भावी प्रधानमन्त्री’ घोषणा गरिएका थापा स्वयं सर्लाही–४ बाट पराजित भएका थिए । कांगे्रसका पदाधिकारी कोही पनि निर्वाचित हुन सकेनन् । 
तत्कालीन महामन्त्रीद्वय थापा र शर्माको पहलमा पुस अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन भएको थियो । कांग्रेसको तत्कालीन संस्थापन समूहले अवैध भन्दै उक्त महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन छ । कांग्रेसले भावी प्रधानमन्त्रीमा सभापति थापालाई घोषणा गरेर निर्वाचनमा गए पनि कांग्रेसले अनपेक्षित परिणाम बेहोर्नुपरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति