नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा पहिलो पटक घर निर्माण प्रदर्शनी

काठमाडौं । कोशी प्रदेशको आर्थिक र औद्योगिक केन्द्र विराटनगरमा पहिलो पटक निर्माण क्षेत्रलाई लक्षित गरी विशेष मेला आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा चैत १२ देखि १६ सम्म विराटनगरस्थित जैन भवनमा ‘सिआईएम होम बिल्ड एक्जिबिसन २०२६’ (घर निर्माण प्रदर्शनी २०८२) आयोजना हुन लागेको हो ।
प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजना हुन लागेको यो प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।
वर्तमान अवस्थामा संकुचित बनेको निर्माण बजारलाई गतिशील बनाउन यो प्रदर्शनी महŒवपूर्ण माध्यम बन्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । ‘हामीले व्यापारिक मेला मात्र गर्न खोजेका होइनौं, निर्माण क्षेत्रको समग्र इकोसिस्टमलाई नै चलायमान बनाउने हाम्रो लक्ष्य हो । उत्पादकदेखि उपभोक्तासम्म र इन्जिनियरदेखि श्रमिक सम्मलाई एउटै थलोमा ल्याएर व्यावसायिक नेटवर्किङसुदृढ गर्ने प्रयास गरेका छौं,’ उनले भने ।
प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन् । जहाँ घर निर्माणका लागि आवश्यक हरेक साना–ठूला सामग्री र सेवाहरू उपलब्ध हुन राठीले जानकारी दिए । सिमेन्ट, इँटा र स्टिल जस्ता आधारभूत निर्माण सामग्रीदेखि स्यानिटरी, प्लम्बिङ, पाइप फिटिङ र विद्युतीय सामग्रीको बृहत् प्रदर्शनी रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार घरको फिनिसिङ र आन्तरिक सजावटका लागि टायल, मार्वल, फर्निचर, मोड्युलर किचन, वार्डरोब र आधुनिक पेन्टहरू पनि समावेश गरिनेछन् । आधुनिक प्रविधिमा चासो राख्नेहरूका लागि स्मार्ट होम अटोमेसन, सौर्य ऊर्जा प्रणाली, लिफ्ट र सुरक्षाका अत्याधुनिक उपकरणहरू पनि यस प्रदर्शनीका आकर्षण रहनेछन् ।
प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले धेरै नेपालीहरूको सपनाको घर निर्माण गर्दा आइपर्ने व्यावहारिक समस्याहरूको समाधान यस मेलाले दिने बताए । ‘धेरैको घरमा छत चुहिने, धमिरा लाग्ने वा पुरानो घरलाई कसरी बलियो (रेट्रोफिटिङ) बनाउने भन्ने चिन्ता हुन्छ । यी सबै विषयमा जनचेतना जगाउन र विशेषज्ञ परामर्श दिन हामीले दैनिक विशेष सत्रहरू सञ्चालन गर्दैछौं,’ उनले भने ।
प्रदर्शनीको अर्को मुख्य विशेषता भनेको हरेक दिन सञ्चालन हुने २ घण्टाका प्राविधिक सत्रहरू हुन् । आयोजकका अनुसार प्रदर्शनी अवलोकनका लागि कुनै पनि शुल्क लाग्ने छैन । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा घर बनाउन चाहने सर्वसाधारण, विद्यार्थी, इन्जिनियर, आर्किटेक्ट, निर्माण व्यवसायी र नीति निर्माताहरूको बाक्लो उपस्थितिको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्