नेभिगेशन
अर्थतन्त्र

पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत ८ र ९ मा

काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि चैत ८ र ९ गते काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘उद्यमशीलता फैलाऔं, युवालाई स्वरोजगार बनाऔं’ भन्ने नारासहित २ दिन चल्ने सम्मेलनमा सातवटा सत्रमा लघुवित्तका विविध आयामहरुमा सामूहिक छलफल, अन्तत्र्रिmया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । जसअन्र्तगत ‘लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौति र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ ।
विश्वका १७७ वटा देशमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरुको सम्मेलन नेपाल एकमात्र देश रहेको पत्रकार सम्मेलनमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । ‘लघुवित्तका नीति निर्माता तथा नियामकहरुको सहभागितामा विश्व सम्मेलन, क्षेत्रिय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ,’ उनले भने, ‘सदस्यहरुलाई सहभागिता गराई उनीहरुको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।’
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असोजसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्थाले देशभर ५ हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ ।
२७ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ९५ अर्बभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्तबाहेक ५० वटा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्