नेभिगेशन
अर्थतन्त्र

‘वुमन इन पस्मिना’को औपचारिक आरम्भ

काठमाडौं । नेपाल पस्मिना उद्योग संघद्वारा पस्मिना मूल्य शृंखलामा संलग्न महिलाको भूमिका पहिचान, सशक्तीकरण तथा प्रवर्धन गर्ने उद्देश्यले ‘वुमन इन पस्मिना’ नामक महिला अध्यायको औपचारिक आरम्भ भएको छ । पस्मिना तथा कस्मिर उत्पादन क्षेत्रमा करिब ७० प्रतिशत श्रमशक्ति महिला रहेको पनि नेतृत्व, निर्णय प्रक्रियामा सहभागिता तथा प्रतिनिधित्वको क्षेत्रमा उनीहरूको उपस्थिति अभैm सीमित रहेको सन्दर्भमा यस पहलको सुरुवात गरिएको हो ।
यस पहलले किसानदेखि कारीगर, उद्यमी तथा निर्यातकर्तासम्म पस्मिना क्षेत्रका महिलालाई एउटै प्लेटफर्ममा ल्याई उनीहरूको क्षमता अभिवृद्घि, नेतृत्व विकास तथा अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, परम्परागतरूपमा पर्दापछाडि रहेका महिलालाई अगाडि ल्याई उनीहरूको आवाज, पहिचान तथा नेतृत्व स्थापित गर्ने उद्देश्यसमेत छ । कार्यक्रममा विशिष्ट अतिथिहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विकास साझेदारहरू, नेपाल सरकारका प्रतिनिधि ज्यूहरू, उद्योग क्षेत्रका सरोकारवालाहरू तथा महिला नेतृत्वहरूको उल्लेखनीय उपस्थिति थियो । 
वुमन इन पस्मिनामार्फत महिलाको सीप विकास, उद्यमशीलता प्रवर्धन, वित्तीय पहुँच विस्तार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँगको पहुँच अभिवृद्घि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत सीपमूलक तालिम, नेतृत्व तथा उद्यम विकास कार्यक्रम, नेटवर्किङ तथा उद्योग संवाद, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा व्यापार मेलामा सहभागितालगायतका गतिविधिहरू समावेश गरिनेछन् ।
यस पहलले परम्परागत सीप र आधुनिक बजारबीचको अन्तर कम गर्दै महिलालाई सहभागी मात्र नभई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने लक्ष्य लिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्