नेभिगेशन
स्वास्थ्य

किशोरीहरूमा रक्तअल्पता उच्च

बर्दिया । यहाँका किशोरीहरूमा गरिएको एक परीक्षणमा उक्तअल्पता उच्च रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाद्वारा आठ वटा नगरपालिकाका आठ वटा विद्यालयका दुई हजार ६ सय ७२ किशोरीमा गरिएको रक्तपरीक्षणमा रक्तअल्पता भएको देखिएको हो ।
परीक्षण गरिएका किशोरीमध्ये ४ सय ८३ जनाको मात्र सामान्य हेमोग्लोबिन रहेको र दुई हजार १ सय ८९ जनामा रक्तअल्पता फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त परीक्षणमा सामान्य रक्तअल्पता ५ सय ७५ जनामा, मध्यम रक्तअल्पता एक हजार ४ सय १३ जनामा देखिएको छ भने कडा खालको रक्तअल्पता ७२ जनामा देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दिया प्रमुख नारायणप्रसाद चौधरीले किशोेरीमा बढी रक्तअल्पता देखिएको पुष्टि गर्दै रक्तअल्पताको रोकथामका लागि साप्ताहिक रूपमा आइरन चक्की खुवाउने कार्यक्रम रहेको बताए । रक्तअल्पता देखिएका किशोरीलाई छ महिनापछि पुनः परीक्षण गरिनेछ ।
गत वर्ष जिल्लाभरिका १६ वटा विद्यालयका तीन हजार ३ सय ३७ किशोरीमा रक्तपरीक्षण गरिएको थियो । जसमध्ये दुई हजार ६ सय ९३ जनामा रक्तअल्पता देखिएको थियो भने ६ सय ४४ जनामा रक्तअल्पता देखिएको थिएन ।
स्वास्थ्य कार्यालय बर्दियाका कुपोषण स्रोतव्यक्ति मानबहादुर नेपालीले सामान्य र मध्यम खालको रक्तअल्पता देखिएकालाई आइरन चक्की दिई पोसिलो खानेकुरा खान सुझाव दिइएको बताउँदै कडा रक्तअल्पता देखिएका किशोरीलाई औषधी दिई थप जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको जनाए । गत वर्षको तुलनामा यस वर्ष रक्तअल्पता अधिक देखिएको उनले बताए ।
रक्तअल्पता परीक्षण गरिएका विद्यार्थीलाई छ महिनापछि पुनः परीक्षण गरिनेछ । कडा खालको रक्तअल्पता देखिएका ७२ जनामध्ये ९० प्रतिशत थारू समुदायका हुन् । उनीहरूलाई थप जाँचका लागि अस्पताल पठाइएको नेपालीले बताए ।
सरकारले किशोरीहरूमा रक्तअल्पता नहोस् भनेर हरेक साता आइरन चक्की खुवाउने कार्यव्रmम ल्याएको छ । आइरन चक्की खुवाउँदासमेत किशोरीमा रक्तअल्पता देखिएको छ । कतिपय किशोरीमा रक्तअल्पता भएकै कारण विद्यालयमा चक्कर आउने, आलस्य हुने र बिरामी हुने जस्ता देखिने गरेका छन् ।
बर्दिया अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनालले घरमा बनाएका र प्राकृतिक खानामा भन्दा किशोरकिशोरीमा बजारिया तथा जंक फुडप्रति बढी आकर्षण भएकाले उनीहरूमा पोषणको कमी हुने र रक्तअल्पताको समस्या देखिने गरेको बताइन् । उनले खानपानको तरिका नमिल्दा, रगत बढ्ने खानेकुरा नखाँदा, जंक फुड र क्याफिनयुक्त खानेकुरा बढी खाँदा किशोरीमा रक्तअल्पता हुने गरेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्