नेभिगेशन
राजनीति
कांग्रेस पराजयको रिपोर्ट

आफ्नै नेताले गरे ‘साइलेन्स किलिङ’ !

काठमाडौँ । नेपाली कांग्रेसले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भोगेको अप्रत्याशित पराजयको प्रारम्भिक समीक्षा गर्दै पार्टीभित्रको असहयोग, विगतका विसंगति, जनअसन्तुष्टि, गठबन्धन राजनीति, संगठनात्मक कमजोरी र नयाँ राजनीतिक भाष्यलाई समयमै प्रतिवाद गर्न नसक्नु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ । निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले २७ बुँदे प्रारम्भिक विश्लेषण प्रस्तुत गर्दै पराजय कुनै एक व्यक्तिको कारण नभई श्रृंखलाबद्ध विकृतिको परिणाम भएको बताएका छन् ।
सभापति पदबाट दुई दिनअघि राजीनामा दिएका गगन थापा अनुपस्थित रहेका कारण बैठकको अध्यक्षता गरेका शर्माले पार्टीभित्रै भएको ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ लाई पराजयको महŒवपूर्ण कारणका रूपमा उल्लेख गरे । उनका अनुसार टिकट नपाएका तथा उम्मेदवार बन्न नसकेका केही नेताले गम्भीर असहयोग गरेका कारण परिणाम प्रभावित भयो । विशेष महाधिवेशनको विपक्षमा रहेका समूहले चुनावी अभियानमा पूर्ण सहयोग नगरेको र कतिपय नेता मौन बसेर आफ्नै पार्टीका उम्मेदवारलाई कमजोर पार्ने भूमिकामा देखिएको उनको विश्लेषण छ ।
शर्माले पार्टीभित्रको असहयोगलाई अनुशासनको विषय हुनसक्ने संकेत गर्दै असहयोग गर्नेहरूको भूमिका छानबिनको दायरामा आउने बताएका छन् । उनले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वलाई जनतासम्म सन्देश पु¥याउन समय अभाव भएको र छोटो अवधिमा मतदाताको विश्वास फर्काउन नसकिएको पनि औंल्याए । उनका अनुसार पुरानो सांगठनिक संरचनाले नयाँ चुनौती सामना गर्न नसक्दा चुनावमा कमजोरी देखिएको हो ।
बैठकमा प्रस्तुत प्रतिवेदनमा विगतका सरकार सञ्चालनको शैली, चुनावी गठबन्धन, राजनीतिक भागबन्डा र राज्यका निकायमा बढ्दो राजनीतीकरणले पनि नागरिकमा वितृष्णा बढाएको उल्लेख गरिएको छ । २०७४ पछि स्थिर सरकार दिन नसक्नु, २०७९ मा ठूलो दल हुँदा पनि सरकारको नेतृत्व गर्न नसक्नु र बारम्बार उही अनुहार नेतृत्वमा दोहोरिनुले मतदातामा पुराना दलप्रति निराशा बढेको निष्कर्ष निकालिएको छ ।
शर्माले चुनाव केन्द्रित गठबन्धनले पार्टी पंक्तिमा असन्तुष्टि बढाएको र संसद् तथा सरकार सञ्चालनको शैलीले जनतामा विकल्प खोज्ने मनोविज्ञान बलियो बनेको बताएका छन् । सामाजिक सञ्जालको प्रभाव, नयाँ दलले बनाएको “३५ वर्षमा केही भएन” भन्ने भाष्य र प्रियतावादको लहरलाई समयमै चुनौती दिन नसक्नु पनि पराजयको कारणका रूपमा उल्लेख गरिएको छ ।
उनका अनुसार कांग्रेसले विगतमा गरेका शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतान्त्रिक पुनस्र्थापना र विकासका कामजस्ता उपलब्धि प्रभावकारी रूपमा जनतासम्म पु¥याउन नसक्दा पनि परिणाम प्रतिकूल भयो । साथै नियुक्ति, विश्वविद्यालय, संवैधानिक निकाय र कूटनीतिक पदमा भागबन्डा बढ्दा मेरिटोक्रेसी कमजोर भएको र त्यसले जनविश्वास घटाएको प्रतिवेदनमा उल्लेख छ ।
जेनजी आन्दोलन र सामाजिक सञ्जालमार्फत बढेको असन्तुष्टि समयमै सम्बोधन गर्न नसक्दा मतदाताको मनोविज्ञान बदलिएको शर्माले बताएका छन् । कांग्रेस–एमाले सरकार हुँदा प्रतिपक्षी स्वर कमजोर भएपछि असन्तुष्टि सडक र डिजिटल माध्यममा विस्फोट भएको र त्यही असन्तुष्टि मतदानमा परिणत भएको उनको निष्कर्ष छ ।
पराजयमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै शर्माले सभापतिले पद छोड्नुपर्ने अवस्था नभएको बताए । छोटो समयमै आएको नयाँ नेतृत्वलाई दोष दिनु न्यायसंगत नहुने भन्दै उनले संगठनलाई पुनर्गठन गर्दै जनविश्वास पुनः प्राप्त गर्ने आवश्यकता औंल्याएका छन् ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रारम्भिक समीक्षामाथि छलफल जारी रहेको र आगामी बैठकहरूले थप निष्कर्ष निकाल्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति