नेभिगेशन
मनोरञ्जन

‘एक मुठी बादल’को काव्यिक टिजर

आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘एक मुठ्ठी बादलः माई शेयर अफ स्काई’को काव्यिक टिजर सार्वजनिक भएको छ । अभिनेत्री आँचलको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो । आँचलले टिजरमा ‘पोम्पोईको फूल’ कविता वाचन गरेकी छन् । 
फिल्मका निर्मातामध्ये एक सामीप्य तिमल्सेना भन्छन्, ‘टिजरमा सुनाइएको  कवितामार्फत एउटी महिलाले बिहेपछि सम्हाल्नुपर्ने असम्भव जिम्मेवारीको झलकका बारेमा बताइएको हो ।’
कवितामा आउने ‘पोम्पोई’ प्राचीन रोमन सहर हो । समृद्ध यो सहरमा एक दिन यसतो ज्वालामुखी फुट्छ कि त्यसले सारा सहर ध्वस्त मात्र बनाउँदैन, सारा भव्यता र समृद्धि एकै झमटमा सिध्याउँछ । त्यही कुरा एउटी महिलाको जीवनमा कसरी असम्भव जिम्मेवारीहरूका कारण पछि विष्फोटक रूप धारण गर्छ भन्ने विषय फिल्मले उठान गरेको सामीप्य बताउँछन् ।
कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारहरूको परिचय गराएको छ । यो कविता चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माको छिपछिपे सम्झनामा आधारित छ । सहाराका अनुसार उनले यस्तै भावको कविता हजुरआमाको मुखबाट सुन्ने गरेकी थिइन् । उनले यो कविता लगभग बिर्सिसकेकी थिइन् तर चलचित्रको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । 
सहारा भन्छिन्, ‘सम्पादनको भागदौडका बीचमा तनावका बीच यो कविता फेरि याद आयो । जतिबेला फिल्मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो, त्यो बेला कविता सम्झिएपछि फिल्ममा हालूँ लाग्यो ।’
अभिनेत्री आँचल शर्माले फिल्मको झलक आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेकामा निर्माण समूहप्रति कृतज्ञता व्यक्त गरिन् । ‘अरू चलचित्रमा म अरू कोही भूमिका निर्वाह गरिरहेकी हुन्छु तर यो फिल्ममा जुन माइली छे, त्यो मै हुँ । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि शब्दमा बयान गर्न सक्दिनँ । त्यसैले यो फिल्म मेरा लागि एकदमै विशेष छ ।’
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ । 
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।
चलचित्रका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।
फिल्म निर्माता सामीप्य भन्छन्, ‘यो फिल्मको विशेषता भन्नु चाहिँ, महिलाले नेतृत्व गरेको हो । बेहुली बन्न लागेकी एउटी युवतीको कथा हो । भोलिपल्ट बिहे छ, अघिल्लो दिन एउटी बेहुलीको जीवनमा घट्ने घटनामाथि यो फिल्म बनेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्