नेभिगेशन
राजनीति

कांग्रेसले ग्ल्यामरको पछि लाग्नु हुन्थेनः मीन विश्वकर्मा नेता, नेपाली कांग्रेस

काठमाडौँ । राजमार्गमा अगाडि दौडिरहेको ‘नेपाली कांग्रेस’ नामको गाडीलाई बीचमै चालक परिवर्तन गरियो, तर नयाँ चालक आएलगत्तै गाडी दुर्घटनामा प¥यो । त्यसपछि पनि आफूले ठूलो क्षति हुनबाट जोगाएको दाबी गर्नु यथार्थसँग मेल खाँदैन । यसैगरी, राम्रो परिणाम ल्याइरहेको नेतृत्व हटाएर कमजोर परिणाम ल्याउँदा पनि पुरानै दोष देखाउनु तर्कसंगत हुँदैन ।
पहिले ८९ सिट जितेको पार्टी अहिले ३८ सिटमा सीमित हुनु नेतृत्व परिवर्तनको परिणाम हो भन्ने स्पष्ट देखिन्छ । यस्तो अवस्थामा पराजयको जिम्मेवारी स्वीकार गर्नुको सट्टा आत्मरक्षामा लाग्नुले पार्टी बलियो बन्न सक्दैन । अहिले आवश्यक कुरा भनेको निर्वाचनको सामान्य समीक्षा होइन, बरु पार्टीभित्र एकता र वस्तुनिष्ठ आत्मसमीक्षा हो ।
पार्टीभित्रको ठूलो समूह बाहिरिएको अवस्था, निर्वाचन आयोगसँगको विवाद र अदालतमा परेको मुद्दाले कांग्रेस कमजोर बनेको छ । यस्तो संवेदनशील समयमा नेतृत्वले बाह्य कारणभन्दा आन्तरिक एकतालाई प्राथमिकता दिनुपथ्र्यो, तर त्यसो हुन सकेको छैन । १४औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधता पनि प्रश्न उठाउने प्रयास भएको देखिन्छ, जबकि सभापति शेरबहादुर देउवा दुई पटक निर्वाचित भएर आएका नेता हुन् ।
महामन्त्री गगन थापाको नेतृत्वमा चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन । विगतमा देउवाको नेतृत्वलाई कमजोर भन्दै प्रचार गरिए पनि परिणामले त्यो दाबी पुष्टि गर्न सकेन । चुनावी अभियानमा आफ्नै नेतृत्वको आलोचना गर्दै मत माग्ने शैलीले पार्टीभित्रै असहजता सिर्जना ग¥यो, जसका कारण धेरै कार्यकर्ता सक्रिय रूपमा सहभागी हुन सकेनन् ।
बाह्य प्रभाव र ‘ग्ल्यामर राजनीति’ को प्रभावमा कांग्रेसले आफ्नो मौलिक विचार र पहिचान गुमाउँदै गएको देखिन्छ । बालेन शाह वा रवि लामिछानेजस्ता नयाँ शैली अपनाउने प्रयासमा कांग्रेस न नयाँ बन्न सक्यो, न त पुरानो विरासत जोगाउन सक्यो । यसले पार्टीलाई द्विविधामा पु-याएको छ ।
अहिलेको अवस्थामा गगन थापाको राजीनामा पनि अस्पष्ट र नाटकीय जस्तो देखिएको छ । यस्ता गतिविधिले नेतृत्वको विश्वसनीयता घटाउँछ । अब आवश्यक कुरा भनेको राजीनामाको बहसभन्दा माथि उठेर पार्टी एकताका लागि पहल गर्नु हो । देउवा, पूर्णबहादुर खड्का लगायत सबै नेतासँग संवाद गरेर साझा धारणा बनाउनु जरुरी छ ।
कांग्रेसलाई पुनर्जीवित गर्ने एक मात्र उपाय आन्तरिक एकता हो । विगतका साना गल्तीहरू बिर्सेर सबै पक्ष एक ठाउँमा उभिन सके मात्र पार्टी बलियो बन्न सक्छ । गगन थापा लगायत सबै नेताले जिम्मेवारी बोध गर्दै एकताका लागि अघि बढेमा कांग्रेस फेरि सशक्त बन्ने सम्भावना अझै बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति