नेभिगेशन
राजनीति

नयाँ सरकार गठनको गृहकार्यमा रास्वपा

सांसदहरूको शपथपछि नयाँ मन्त्रिमण्डल

काठमाडौं । निर्वाचनको परिणाम आइसकेपछि यतिबेला नयाँ सरकार गठनको तयारी चलिरहेको छ । निर्वाचन आयोगले मतपरिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै शीतल निवास र सिंहदरबारमा सत्ता हस्तान्तरणको संवैधानिक एवं प्रशासनिक तयारीले तीव्रता पाएको हो ।
संसद् सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आगामी बिहीबारका लागि तय गरिएको छ । सचिवालयले शपथका लागि आवश्यक सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बुधबार शपथ लिने तय भएको छ । यसका लागि संघीय संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘निर्वाचित भएकाहरूमध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिएको छ र ज्येष्ठ सदस्यको शपथ चैत ११ गते अनुकूल समयमा हुने गरी राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ ।’
संसद् सचिवालयका अनुसार यसपटकको संसद्मा जेठा सदस्य ७८ वर्षका एक जना छन् । जेठा सदस्य कांग्रेसका अर्जुननरसिं केसीले राष्ट्रपतिसँग शपथ लिएपछि बाँकी सदस्यहरूलाई शपथ गराउनेछन् । बाँकी सदस्यहरूको शपथ बिहीबार दिउँसो २ बजेका लागि तय भएको छ । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुने संसद् सचिवालयले जनाएको छ । 
प्रवक्ता गिरीका अनुसार संसद् अधिवेशन बोलाउनेबारे राष्ट्रपतिको कार्यालयसँग अनौपचारिक छलफल र समन्वय भइरहेको छ । नवनिर्वाचित सदस्यले शपथग्रहण गरेपछि राष्ट्रपतिबाट  अधिवेशन आह्वान हुन सक्छ । संसद् सचिवालयका अनुसार चैत १५ वा १६ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्नेगरी तयारी भइरहे पनि टुंगिइसकेको छैन । 
रास्वपाले सांसदको सपथलगत्तै दलको नेता चयन गर्ने तयारी गरेको छ । रास्वपाले दलको नेता चयन गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न बाटो खुल्नेछ । 
संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने र सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । 
वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सफल समापनलाई प्रजातन्त्रको सुदृढीकरणका रूपमा व्याख्या गरेकी छन् । उनले  मुख्य म्यान्डेट निष्पक्ष निर्वाचन गराउने कार्य सफलतापूर्वक सम्पन्न गरेको भन्दै जनअनुमोदित नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरणका लाग ितयार रहेको बताइसकेकी छन् । 
प्रधानमन्त्री कार्कीले नयाँ आउने सरकारलाई सुझाव दिँदै नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्थाको माग पूरा गर्नुपर्ने सुझाएकी छन् ।  ‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ । सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेको छु ,’ उनले भनेकी छन् ।  
विज्ञ र छरितो मन्त्रिमण्डल
संविधानको धारा ७६ (१) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।’ रास्वपाले दलको नेता ओपचारिक रुपमा चयन गरिसकेको छैन । तर, वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाउने पार्टीभित्र सहमति भइसकेको दाबी गरिएको छ । रास्वपाले चैत १२ गते शपथ लिएपछि दलको नेतामा शाहको नाम सर्वसम्मत चयन गर्ने बताएको छ । 
सरकार गठनसँगै राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ९३ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ ।’
रास्वपाले सरकार सञ्चालनका लागि छरितो र कुशल टोली बनाउने गृहकार्य गरेको छ । प्रशासनिक खर्च कटौती गर्न १५ देखि १८ सदस्यीय सानो मन्त्रिपरिषद् गठन गर्ने रास्वपाको तयारी छ । अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्लेको नाम करिब टुंगिएको रास्वपा स्रोत बताउँछ । तर, अरु नाममा भने सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह संवादमा छन् ।
सभापति लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि शक्तिकेन्द्र वा नेताको घर नधाउन सांसदहरूलाई सचेत गराइसकेका छन् । उनले कार्यक्षमता र विज्ञताकै आधारमा जिम्मेवारी बाँडफाँड हुने प्रष्ट पारेका छन् । प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्रिपरिषद् गठन गर्ने रास्वपाको तयारी छ । 
०७२ सालमा नयाँ संविधान बनेपछि पहिलोपटक यसपटक एउटै दलले एकल सरकार बनाउन पाउने भएको छ । रास्वपाले करिब दुई तिहाइ मत प्राप्त गरेको छ । त्यसैले संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार बन्दैछ । नयाँ सरकारले कार्यभार सम्हालेको पहिलो सय दिनभित्र जनताले महसुस गर्ने गरी सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने संकल्प गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट जितेको  छ । सांसदहरुको शपथपछि नयाँ सरकार बनाउने रास्वपाको तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति