नेभिगेशन
मनोरञ्जन

प्रख्यात कलाकार नोरिस रहेनन्

हलिउडका कठोर नायकको निधनको खबरले संसारभरका फ्यान स्तब्ध

मार्शल–आट्र्सका च्याम्पियन, पछि चलचित्र र टेलिभिजनका चर्चित कलाकार बनेका तथा पछिल्ला दशकहरूमा कडा स्वभावका पात्रका रूपमा इन्टरनेट मिमहरूमा चर्चित बनेका चक नोरिसको बिहीबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
शान्त स्वभावका तर कडा छविका, जोन वेन शैलीका पात्र मन पराउने नोरिसले ‘द हिटम्यान,’ ‘द डेल्टा फोर्स’ र ‘मिसिङ इन एक्शन’ शृंखलाजस्ता चलचित्रहरूमा अभिनय गरेका थिए । उनले सन् १९९० को सुरुदेखि २००१ सम्म प्रसारित टेलिभिजन शृंखला ‘वाकर, टेक्सास रेन्जर’मा कानून कार्यान्वयकको भूमिका निभाएका थिए ।
क्रिश्चियन मूल्यहरूको समर्थन गर्ने रूढिवादी विचारका नोरिसले अमेरिकी राष्ट्रपति जर्ज एच. डब्लु. बुश र जर्ज डब्लु. बुश दुवैका लागि चुनावी अभियानमा काम गरेका थिए ।
सन् २००० को दशकको सुरुमा उनले नयाँ पुस्ताका प्रशंसक पनि पाए, जब ब्राउन विश्वविद्यालयका विद्यार्थी इयान स्पेक्टरले उनको अत्यन्त कडा छविमाथि आधारित इन्टरनेट जोक्स फैलाउन थाले । जस्तै, ‘चक नोरिसले बलिङ बललाई ड्रिबल गर्न सक्छन् ।’ ‘चक नोरिसले अनन्तसम्म गने...दुई पटक ।’ ‘हरेक वर्ष फ्लूले चक नोरिसको खोप लगाउँछ ।’
उनको वास्तविक नाम कार्लोस रे नोरिस थियो, पछि उनलाई ‘चक’ उपनाम दिइयो । उनी १० मार्च १९४० मा ओक्लाहोमामा जन्मिएका थिए । उनको सन् २००६ को आत्मकथा ‘अगेन्स्ट अल अड्स्’ अनुसार जन्मेपछि उनी सास फेर्न संघर्ष गरिरहेका थिए र शरीर नीलो भएको थियो । ‘डाक्टरहरूले तुरुन्तै मलाई अक्सिजनमा राखे, जसले फोक्सो चलाउन मद्दत ग¥यो,’ उनले लेखेका छन् ।
उनकी आमा विल्मा (स्कारबेरी) नोरिसले १८ वर्षकै उमेरमा उनलाई जन्माएकी थिइन्  । उनका पिता रे नोरिस प्रायः अत्यधिक मदिरा सेवन गर्ने गर्थे भनी आत्मकथामा उल्लेख छ ।
स्कूलमा हुँदा उनी लजालु स्वभावका थिए । एक दिन बदमासले पछ्याउँदा उनले प्रतिकार गरे र आक्रमणकारीको औँला पछाडि मोडेर जिते ।
त्यसबाट उनले सिकेको पाठ थियो, ‘डरलाई सामना गरियो भने प्रायः जित्न सकिन्छ ।’
फुटबल र जिम्नास्टिक्स खेले पनि उनी ठूलो खेलाडी बनेनन् । हाईस्कूलपछि उनी प्रहरी बन्न चाहन्थे, तर त्यसअघि उनी एयर फोर्समा भर्ती भए र आफ्नी स्कूले प्रेमिका डायन होलेचेकसँग विवाह गरे ।
सन् १९५० को दशकको अन्त्यतिर एयर फोर्सले उनलाई दक्षिण कोरिया पठायो । त्यहाँ सैन्य प्रहरीको रूपमा काम गर्दा उनले जुडो क्लबमा भाग लिए । अभ्यासका क्रममा तुरुन्तै हड्डी भाँचिए पनि उनले खेल छोडेनन्, किनकि यसले उनलाई राम्रो प्रहरी बनाउने विश्वास थियो ।
दक्षिण क्यालिफोर्निया फर्किएपछि उनले कराते क्लब खोले । आफ्नो विद्यालयको प्रचार गर्न उनले प्रतियोगिताहरूमा भाग लिन थाले । ३४ वर्षको उमेरसम्म उनले करातेका छ वटा विश्व च्याम्पियनसिप जितेका थिए ।
एक जितपछि हङकङका मार्शल–आट्र्स स्टार ब्रुस लीले उनलाई कुंग–फु सिकाएका थिए । त्यही मित्रताका कारण उनले सन् १९७२ को फिल्म ‘द रिटर्न अफ द ड्रागन’मा भूमिका पाए ।
पछि उनले स्टीभ म्याक्विनलाई कराते सिकाएपछि हलिउडमा थप सम्बन्ध विस्तार गरे । नोरिसले ’मेक अ वीस’ संस्थाका प्रतिनिधिको रूपमा मरणासन्न बालबालिकालाई भेट्न जाने काम पनि गर्थे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्