नेभिगेशन
साहित्य

साहित्य सदनमा कविता महोत्सव

काठमाडौं । विश्व कविता दिवसको अवसरमा साहित्य सदनद्वारा आयोजित प्रतिनिधि साहित्य कविता महोत्सव–२०८२ बौद्धस्थित रामहिटी परिसरमा सम्पन्न भएको छ ।

हरेक वर्ष मार्च २१ मा मनाइने यस दिवसका अवसरमा आयोजित कार्यक्रममा देश तथा विदेशका कविहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रम राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने संस्थापकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. बासुदेव त्रिपाठी, उपकुलपति डा. गंगाप्रसाद उप्रेती र विष्णु घिमिरे, वरिष्ठ पत्रकार तथा कवि पुरुषोत्तम दाहाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ३२ जना स्रष्टाहरूले आफ्ना कविता वाचन गरेका थिए । कविताहरूले भाषा, साहित्य, इतिहास, समाज तथा जीवनका विविध आयाम समेट्दै शान्ति, स्वतन्त्रता र सुन्दर विश्वको सन्देश प्रवाह गरेका थिए ।

निर्णायक मण्डलको मूल्याङ्कनपछि देबु लुइटेल प्रथम घोषित भए । उनले नगद ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे भने विराटनगरकी शारदा भट्टराई द्वितीय भइन् । उनले २० हजार रूपैयाँ प्राप्त गरिन् ।

यस्तै तृतीय स्थानमा सिन्धुपाल्चोकका सुन्दर सिरिस तथा दैलेखकी गरिमा पाण्डे र शोभा अधिकारी घोषित भए । उनीहरू प्रत्येकले १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको अन्त्यमा डा. वासुदेव त्रिपाठीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कवि सीता भट्टराईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्