नेभिगेशन
स्वास्थ्य

हर्मोनका कारण महिलाको पीडा लामो

लामो समयदेखि गरिएको अनुसन्धानले सामान्यतः पुरुषहरू पीडाबाट छिटो निको हुने र महिलाहरूको तुलनामा दीर्घकालीन पीडाको समस्या कम हुने देखाएको थियो । तर अहिले वैज्ञानिकहरूले यसका पछाडिको कारणबारे अझ स्पष्ट संकेत पाएका छन् ।
जब शरीरमा चोट लाग्छ, प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ । यसले केही विशेष प्रकारका सेता रक्तकोषहरूलाई घाइते स्थानतर्फ पठाउँछ, जसको काम पीडा महसूस गराउने स्नायु र सुन्निएको अवस्थालाई शान्त पार्नु हो ।
नयाँ अध्ययन अनुसार, पुरुषहरूको शरीरमा ती सेता रक्तकोषहरूले पीडा कम गर्ने अणु बढी उत्पादन गर्छन्, जसले दुखाइलाई छिट्टै नियन्त्रणमा ल्याउन मद्दत गर्छ ।
यो अणुलाई इन्टरल्यूकिन–१० भनिन्छ र यसको उत्पादन बढाउन टेस्टोस्टेरोन हर्मोनले भूमिका खेल्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मिशिगन स्टेट युनिभर्सिटीका न्यूरो–इम्युनोलोजिस्ट तथा अध्ययनका सह–लेखक जियोफ्रोई लोमे भन्छन्, ‘यो महिलाहरू अत्यधिक भावुक हुन्छन् वा कमजोर हुन्छन् भन्ने कारण होइन, र पीडा उनीहरूको कल्पनामा मात्र हुने कुरा पनि होइन ।’
अनुसन्धानकर्ताहरूले सन् २०१७ देखि २०२१ सम्म अमेरिकाका विभिन्न अस्पतालका आकस्मिक कक्षमा पुगेका १७२ महिला र ७३ पुरुषको तथ्याङ्क अध्ययन गरेका थिए । यी सबै व्यक्तिहरू दुर्घटनाजन्य चोट, विशेष गरी सवारी दुर्घटनापछि उपचारका लागि अस्पताल पुगेका थिए ।
घाइते भएपछि तुरुन्त, त्यसपछि आठ हप्ता र बाह्र हप्तापछि उनीहरूलाई आफ्नो पीडाको स्तर बताउन लगाइएको थियो । नतिजामा पुरुषहरूले आफ्नो पीडा छिटो कम भएको बताएका थिए ।
रगत परीक्षण गर्दा पनि पुरुषहरूको शरीरमा इन्टरल्यूकिन–१० को मात्रा महिलाभन्दा बढी पाइयो । प्रयोगशालामा गरिएको परीक्षणमा पनि यस्तै परिणाम देखियो । चोट लागेपछि नर मुसा मादा मुसाभन्दा छिटो निको भएका थिए, र उनीहरूको रगतमा इन्टरल्यूकिन–१० को स्तर बढी थियो ।
त्यसपछि अनुसन्धानकर्ताहरूले हर्मोनमा परिवर्तन गरेर थप परीक्षण गरे । केही मादा मुसाको अण्डाशय हटाएर उनीहरूलाई टेस्टोस्टेरोनबाट बनेको हर्मोन दिइयो । यसपछि ती मुसामा इन्टरल्यूकिन–१० को स्तर बढ्यो र उनीहरू पीडाबाट छिटो निको भए ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, करिब चार जनामध्ये एक वयस्क दीर्घकालीन पीडाबाट पीडित छन् । त्यसमध्ये करिब ८.५ प्रतिशत मानिसलाई यस्तो पीडा हुन्छ जसले काम गर्न वा दैनिक जीवन चलाउन गाह्रो बनाउँछ ।
अहिलेसम्मका धेरै उपचारहरूमा पीडाको कारण रोक्ने प्रयास गरिन्छ, तर वैज्ञानिकहरूका अनुसार पीडा किन र कसरी कम हुन्छ भन्ने बुझ्नु पनि त्यत्तिकै महŒवपूर्ण छ ।
भर्जिनिया टेक विश्वविद्यालयकी स्नायुविज्ञ एन ग्रेगस भन्छिन्, ‘इन्टरल्यूकिन–१० जस्तो पीडाको संकेत दिने उपाय हामीसँग छ भने त्यो उपचारको नयाँ सम्भावित बाटो हुन सक्छ ।’
अनुसन्धानकर्ताहरूका अनुसार, सही मात्रामा प्रयोग गरिएको टेस्टोस्टेरोन प्याच (छालामा टाँसिने औषधि) भविष्यमा पीडा कम गर्ने उपचारका रूपमा प्रयोग हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्