विश्व पानी दिवस संयुक्त राष्ट्रसंघले १९९० को दशकबाट मनाउन सुरु गरिएको हो । यस वर्ष सन् २०२६ को नारा ‘जहाँ पानी बग्छः त्यहाँ समानता बढ्छ’ भन्ने छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको यो विषयवस्तुले ‘जहाँ मानिसहरूलाई सुरक्षित पिउने पानी र सरसफाइको मानवअधिकारको अभाव हुन्छ, त्यहाँ असमानता फस्टाउँछ’, जसको कारण महिला र बालिकाहरूले दुःख भोग्छन् भन्ने तथ्यलाई प्रष्टयाएको छ । विश्वको करिब ७३ देखि ७५ प्रतिशत (सन् २०२२) जनसंख्यामा (झण्डै ६ अर्ब मानिस) ले ‘सुरक्षित रूपमा व्यवस्थित’ खानेपानी प्रयोग गरिरहेका थिए, जसको अर्थ घरमै उपलब्ध, आवश्यक परेको बेला पाइने र प्रदूषणमुक्त पानी हो । यस प्रगतिका बाबजुद पनि अझै चार जनामध्ये एक जना, करिब २.२ अर्ब मानिस, सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित छन्, विशेषगरी ग्रामीण तथा कमजोर अवस्थाका क्षेत्रहरूमा ठूलो असमानता देखिन्छ ।
दिगो विकास लक्ष्य, सन् २०३० सम्म सबैलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य हासिल गर्ने दिशामा विश्व अहिले सही मार्गमा छैन । उक्त लक्ष्य पूरा गर्न खानेपानी क्षेत्रमा लगानी छ गुणाले वृद्धि गर्न आवश्यक छ । सन् २०१५ देखि २०२४ बीच सुरक्षित रूपमा व्यवस्थित खानेपानीको पहुँच ६८ बाट बढेर ७४ प्रतिशत पुगेको छ । सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न जलवायु सहनशील खानेपानी तथा जल पूर्वाधार अत्यावश्यक छ । वार्षिक रूपमा सयौँ अर्ब डलरबराबरको आर्थिक क्षति रोक्न पानी क्षेत्रमा अनुकूलनका लागि विश्वव्यापी लगानी उल्लेखनीय रूपमा बढाउन आवश्यक छ ।
जलवायु परिवर्तनले जलचक्रलाई तीव्र बनाउँदै खडेरी र बाढी दुवैको जोखिम बढाइरहेको छ । तापक्रम एक डिग्रीले बढ्दा वायुमण्डलले करिब सात प्रतिशत बढी आद्र्रता लिन्छ । परिणामस्वरुप धेरै क्षेत्रमा अत्यधिक वर्षाका घटनाहरूको आवृत्ति र तीव्रता बढेको छ । हाल विश्वको करिब चार अर्ब मानिसले वर्षमा कम्तीमा एक महिना गम्भीर पानी अभावको सामना गर्छन् । सन् २०५० सम्म करिब ५.७ अर्ब मानिस पानी अभाव भएका क्षेत्रमा बस्न बाध्य हुन सक्छन् । जलवायु परिवर्तनका कारण धेरै सुक्खा क्षेत्रहरूमा नवीकरणीय ऊर्जामा १०–३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । सन् २००० पछि बाढीसँग सम्बन्धित विपद् घटनाहरू अघिल्लो दुई दशकको तुलनामा धेरै बढेका छन् । झण्डै १.८ अर्ब मानिस उल्लेखनीय बाढी जोखिम भएका क्षेत्रमा बसोबास गर्छन् । समुद्री सतह बढ्दै जाँदा साना द्वीप र तटीय क्षेत्रका सुरक्षित पानीका स्रोतहरू जोखिममा परिरहेका छन् । तापक्रम वृद्धिका कारण विश्वभरका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन् ।
हिन्दूकुशजस्ता पर्वतीय क्षेत्रहरूः जसले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराइरहेको छ, हिउँ र बरफको मात्रा घटिरहेको छ । यदि विश्वव्यापी तापक्रम दुई डिग्री सेन्टिग्रेडसम्म पुग्यो भने हिमालय क्षेत्रका करिब एकतिहाइ हिमनदीहरू हराउन सक्छन् । पानीसँग सम्बन्धित विपद् घटनाहरूले विश्वका ७० प्रतिशतभन्दा बढी प्राकृतिक विपद् ओगटेका छन् । खडेरीले कृषि क्षेत्रलाई प्रभावित गर्दै खाद्य सुरक्षामा खतरा बढाउँछ र कुपोषण वृद्धि गर्छ ।
नेपालमा ९० प्रतिशतभन्दा बढी जनसंख्यामा आधारभूत खानेपानीमा पहुँच भए पनि करिब १९ प्रतिशत मानिसले मात्र प्रदूषणमुक्त र सुरक्षित रूपमा व्यवस्थित खानेपानी प्रयोग गरिरहेका छन् । उच्च ई–कोलाई प्रदूषणले पानीका स्रोतहरू प्रभावित भएका छन्, विशेषगरी गरिब समुदायमा, जहाँका प्रायः घरधुरीको पानी असुरक्षित हुनसक्छ । नेपालमा करिब १० प्रतिशत जनसंख्या खानेपानीबाट वञ्चित छन् भने करिब २० प्रतिशत जनसंख्याको मात्र सुरक्षित खानेपानीमा पहुँच छ । विश्वभर महिला र बालिकाहरूले दैनिक करिब २० करोड घण्टा पानी संकलनमा खर्च गर्छन् । घरमै पानीको सुविधा नभएका १० मध्ये आठ घरधुरीमा पानी ल्याउने मुख्य जिम्मेवारी महिला र बालिकाहरूको भएको परिपे्रक्ष्यमाः विद्यालयमा पानी र सरसफाइको अभावले बालिकाहरूको शिक्षामा असर पार्छ । जब पानी नजिकै हुन्छ, बालिकाहरू विद्यालयमा रहन्छन् । जब बालिकाहरू विद्यालयमा रहन्छन्, समानता बढ्छ ।
नेपालमा पानी; खानेपानी र सरसफाइ; र लैङ्गिक समानता आपसमा गहिरो रूपमा जोडिएका विषय हुन् । पानी संकलनमा महिलाको भूमिका धेरै ग्रामीण परिवारमा पानी ल्याउने जिम्मेवारी मुख्यतः महिला र किशोरीहरूमा हुन्छ, टाढाबाट पानी बोक्नुपर्ने अवस्थाले समय, स्वास्थ्य र सुरक्षामा असर गर्छ, यसले विद्यालय जाने किशोरीहरूको पढाइमा पनि बाधा पु¥याउँछ । सुरक्षित खानेपानी र सरसफाइको अभावले महिलामा बढी स्वास्थ्य जोखिम, जस्तैः पानीजन्य रोग बढाउँछ । महिनावारी सरसफाइका लागि विद्यालय र सार्वजनिक स्थानमा पर्याप्त पानी र शौचालयको अभावले किशोरीहरूको विद्यालय उपस्थितिमा असर गर्छ ।
असुरक्षित पानी, सरसफाइ र स्वच्छता अभावका कारण हरेक वर्ष सयौं हजारको मृत्यु हुन्छ । पानीजन्य रोगहरूले विशेषगरी पाँच वर्षमुनिका बालबालिका र गरिब समुदायहरूलाई असमान रूपमा प्रभावित गर्छन् । नेपालमा करिब ९० प्रतिशत भन्दा बढी जनसंख्या आधारभूत खानेपानी सेवामा पहुँच राख्छन्, तर सुरक्षित पानी सबै ठाउँमा उपलब्ध छैन । करिब ७५–८० प्रतिशत घरधुरीमा आधारभूत सरसफाइ सुविधा पुगेको छ, तर ग्रामीण–सहरी असमानता अझै छ । पानीजन्य रोग (जस्तै झाडापखाला) बालबालिकामा प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो । ग्रामीण क्षेत्रमा महिलाले दैनिक १–३ घण्टा पानी संकलनमा खर्च गर्न सक्छन् ।
विश्वव्यापी रूपमा कुल सुरक्षित पानीको करिब ७० प्रतिशत कृषि क्षेत्रमा प्रयोग हुन्छ । पानी अभावले केही क्षेत्रमा आर्थिक वृद्धिदरलाई कुल गार्हस्थ उत्पादनको छ प्रतिशतसम्म घटाउन सक्छ । पानी र सरसफाइमा लगानी गरिएको प्रत्येक एक डलरले बहुगुणा आर्थिक प्रतिफल दिनसक्छ । नेपालको करिब ६५ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा निर्भर छ, सिँचाइ पहुँचले उत्पादन र आम्दानी सिधै बढाउँछ । कुल खेतीयोग्य जमिनमध्ये करिब ५० प्रतिशत जति जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । सुरक्षित खानेपानी पहुँच करिब ९० प्रतिशत भन्दा बढी भए पनि सुरक्षित गरी व्यवस्थित सेवा सबैमा उपलब्ध छैन । पानीको अभावका कारण ग्रामीण महिलाले दैनिक १–३ घण्टा समय पानी सङकलनमा खर्च गर्न सक्छन् । यो समय आयआर्जनमा प्रयोग हुनसक्थ्यो । सिँचाइ पहुँच भएका किसानको उत्पादन बर्सेनि वर्षामा मात्र निर्भर किसानभन्दा बढी हुन्छ । जलविद्युत्, खानेपानी आयोजना र सिँचाइ परियोजनाले स्थानीय रोजगारी बढाउँछ । नजिकै सुरक्षित पानी उपलब्ध हुँदा महिलाको समय बचतबाट साना व्यवसाय, कृषि वा सीपमूलक काममा संलग्न हुन सक्छन् । पानीजन्य रोग कम हुँदा उपचार खर्च घट्छ र काम गर्ने दिन बढ्छ । तसर्थ, पानीले कृषि, व्यवसाय, ऊर्जा उत्पादन र जीविकोपार्जनलाई सशक्त बनाउँछ ।
जलवायु परिवर्तनको प्रभाव मानिसहरूमा मुख्य रूपमा पानीमार्फत देखिन्छः बाढी, खडेरी र हिमनदी पग्लिने प्रक्रियामार्फत हिन्दूकुश हिमालयजस्ता पर्वतीय प्रणालीहरूले १.६ अर्बभन्दा बढी मानिसलाई पानी उपलब्ध गराउँछन्, तर त्यहाँका हिमनदीहरू तीव्र रूपमा घटिरहेका छन् । सबैभन्दा गरिब समुदायहरू पानीसम्बन्धी विपद् घटनाबाट सबैभन्दा पहिले र सबैभन्दा बढी प्रभावित हुन्छन् । नेपाल विश्वकै उच्च जलवायु जोखिम भएका देशमध्ये पर्छ, औसत तापक्रम बृद्धिः करिब ०.०५–०.०६ डिग्री सेन्टिग्रेड प्रति वर्ष (पहाडी क्षेत्रमा दर अझ बढी), करिब ८० प्रतिशत वार्षिक वर्षा मनसुन (जुन–सेप्टेम्बर) मा केन्द्रित– बाढी र पहिरो जोखिम उच्च, देशभर छ हजारभन्दा बढी नदी प्रणाली छन्; तर अत्यधिक वर्षाले तराईमा वार्षिक बाढी जोखिम दुई हजारभन्दा बढी हिमतालमध्ये करिब २० बढी हिमताल विष्फोटको जोखिममा छन्, प्रत्येक वर्ष मनसुनका कारण बाढी÷पहिरोबाट सयौंको प्रभावित र ठूलो आर्थिक क्षति भइरहेको छ । मुख्य जोखिमहरूः बाढी– तराई र नदी तटीय क्षेत्र बढी प्रभावित, पहिरो; हाडी तथा हिमाली क्षेत्रमा भारी वर्षापछि हिमताल फुट्ने जोखिम; हिमनदी पग्लिँदै जाँदा जोखिम बढ्दो, खडेरी; वर्षा अनियमित हुँदा कृषि उत्पादन घट्ने । प्रभावः कृषि उत्पादनमा अस्थिरता– खाद्य सुरक्षा जोखिम, खानेपानी स्रोत सुक्ने वा प्रदूषित हुने, पूर्वाधार (सडक, पुल, जलविद्युत)मा क्षति, गरिब र ग्रामीण समुदाय सबैभन्दा बढी प्रभावित, जलवायु न्याय भनेको पानी न्याय पनि हो । तसर्थ, दिगो विकास लक्ष्य पूरा गर्न खानेपानी क्षेत्रमा लगानी छ गुणाले बढाउन आवश्यक छ । (रासस)
(लेखक खानेपानी सरसफाइ र जलवायु परिवर्तन विज्ञ हुन् ।)