नेभिगेशन
मनोरञ्जन

नेपाली फिल्ममा छि-यो एआई

चलचित्र विकास बोर्डको स्क्रिनिङ हलमा नेपाली फिल्मकर्मीहरुको भिड छ । उनीहरु एकतमासले पर्दातिर हेरिरहेका छन् । उनीहरु अहिलेको नवीनतम् एआई प्रविधिबारे सिकिरहेका छन् ।
सोमबार र मंगलबार ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विद आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुई दिने कार्यशालामा फिल्मकर्मीहरुको उत्साह देखेर प्रशिक्षक करुण थापा चकित छन् ।
‘यो ज्यादै नयाँ विधा भएकाले नआउलान् भन्ने लागेको थियो तर हल नै भरिने गरी उत्साहप्रद सहभागिता देखेँ,’ नेपाल एआई फिल्म एलायन्स (नाइफा)का करुण थापाले भने, ‘यति अप्ठोरो विषयमा दिनभरि बसेर तालिम लिनु मैले निकै सकारात्मक रुपमा लिएको छु ।’
सोमबारको कक्षा एआईबारे सामान्य जानकारी भए पनि मंगलबार अझ गहिरो जानकारी दिने तयारीमा छन्, थापा । मंगलबार राम्रो विषय र दृश्य दिएर एआईबाट कसरी तस्बिर, सामग्रीहरु तथा वातावरण बनाएर भिडियो बनाउने अनि त्यो भिडियोमा संवाद, गीत कसरी राख्ने भन्ने तालिम दिइनेछ । 

यसले नेपाली फिल्म सर्जकहरुको पोस्ट प्रोडक्शनको क्षमता बढाउने उनको बुझाइ छ । यसबाहेक एआईद्वारा निर्मित सिर्जनालाई प्रिमियर तथा अन्य एपहरुमा कसरी सम्पादन गर्नेजस्ता प्राविधिक विषय पनि सिकाइने छ ।
यो दुई दिने तालिम सकिएपछि आउँदो महिना पाँच दिने एआई तालिम दिने तयारीमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नीफ)का आयोजकहरुको छ । नीफका पूर्व अध्यक्ष केपी पाठक महोत्सवकै छेको पारेर नेपाली फिल्म सर्जकहरुलाई पाँच दिने वृहद् एआई फिल्ममेकिङको तालिम दिने तयारी भइरहेको छ ।
कुनै पनि फिल्म निर्माणमा चार सय ८२ वटा विधाले प्रत्यक्ष आफ्नो क्षमता पोख्ने गरेको सन् १९९० कै दशकमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ)को एउटा प्रतिवेदनले देखाएको थियो । थापा भन्छन्, ‘नेपालमै पनि कम्तीमा ९० वटा विधा त प्रत्यक्ष रुपमा जोडिएका छन् । ती सबैले अब एआईले फिल्ममेकिङमा कसरी सघाउन सक्छ र आफ्नो क्षेत्रको ज्ञानको दायरा कसरी बढाउनुपर्छ भन्ने सिक्ने बेला आइसकेको छ ।’
अहिले संसारभर नै एआईबाट लामो–छोटा फिल्म बनाउने क्रम शुरु भइसकेको छ । फिल्मकर्मीहरुले आफूलाई सान्दर्भिक बनाइरहन पनि नयाँ प्रविधि सिक्नुपर्ने थापा बताउँछन् ।
नेपाली फिल्म बनाउने सन्दर्भमा अझै पनि अनेकन् समस्याहरुबाट फिल्मकर्मी जुझिरहेका छन् । सबैभन्दा ठूलो चाहिँ बजेटको समस्या नै थियो । अब एउटा दृश्य खिच्न ठूलो रकम खर्चिनु नपर्ने र कम रकममै चाहेको जस्तो ल्याउने एआई प्रविधि आएका कारण फिल्म मेकिङ अझ सरल हुने दाबी थापा बताउँछन् ।
उनी भन्छन्, ‘म यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले नेपालको सेल्युलाइड (रिल)मा फिल्म खिच्ने उर्वर समयदेखि रिललाई डिजिटल ट्रान्सफरमेशन गर्ने युगदेखि अहिले सबै काम डिजिटलमै गर्नेसम्म सबै कुराको साक्षी बन्न पाएँ । अहिले एआईले संसारभर जुन नयाँ परिवर्तन ल्याइरहेको छ, त्यसको पनि साक्षी हुन पाएँ ।’
उनी भविष्यमा एआई फिल्ममेकिङले नेपाली फिल्मको स्तर अझ बढाउन भूमिका खेल्ने र सानो खर्चमै संसारभर बजार पाउन सकिने अवसर आएको बताउँछन् ।
उनी थप्छन्, ‘साँच्चिकै राम्रो फिल्म निर्माण गर्न पहिले सबै विधाका विज्ञहरु मिलेर फिल्म बनाउँथे भने अबका दिनमा सबै विधाका विज्ञहरु एआईमा विज्ञ हुनुपर्ने चुनौती पनि थपिएको छ । फिल्म निर्देशकसँगै अन्य प्राविधिकहरु पनि एआई विज्ञ भए भने फिल्मको गुणस्तर अझ बढी आउने मैले देखिरहेको छु ।’
अहिले फिल्ममेकिङमा एआई छिरेयता महँगा दृश्यहरु पनि कम खर्चमै तयार हुन थालेका छन् । यसको नमूना देखाउन अहिले ठूला एआई कम्पनीहरुले एआई फिल्म महोत्सव पनि गर्न थालेका छन् । यस्ता महोत्सवमा अमेरिका, भारत र चीन अहिले अगाडि देखिएका छन् । भारतले महाभारतलाई एआईमार्फत बनाएको छ । हलिउडले कतिपय लोकप्रिय दृश्यहरुमा एआईको सहयोग लिन थालेको धेरै भइसकेको छ । चीन त भिडियो दृश्यका लागि यतिबेला सबैलाई उछिनिसकेको छ । उसले एआईबाटै बनाइएका छोटा फिल्महरुको भिड नै जम्मा भइसकेको छ ।
एआई कम्पनीले छोटा फिल्म प्रतियोगिता गराउन थालेका छन् । यसो गर्दा उनीहरुको प्रोडक्टको प्रचार हुने भएकाले उनीहरु यसतर्फ आकर्षित भएका छन् । उता फिल्मकर्मीहरु पनि कम बजेटमै उच्च गुणस्तरका भिडियो बनाउन सकिने भएका कारण यसतर्फ आकर्षित हुन थालेका छन् । सिडान्स २.० यस्ता भिडियो बनाउने मामिलामा निकै अगाडि पुगेको छ । प्रम्प्ट (आदेश) हानेकै भरमा १५ मिनेटको भिडियो तयार हुने अवस्था आइसकेको छ ।
नेपालमा ‘रगत’ र ‘शंकर’ फिल्मलाई सेल्युलाइडबाट डिजिटल बनाएर सम्पादन गरी पुनः सेल्युलाइडमा प्रदर्शन गर्न सहयोग गरेका प्राविधिज्ञ करुण थापा नेपालमै एआई सिक्नुपर्ने अवस्था आउनुमा डिजिटल रुपान्तरणको उम्दा नमूना भएको बाउँछन् ।
उता फिल्म मेकिङ सर्वाधिक पेशा गाँसिने पेशा भएकाले अबको समय एआई नसिक्ने जनशक्ति निकै पछि पर्ने केपी पाठक बताउँछन् ।
अब एआईलाई सामान्य प्रम्प्ट दिने, कुनै आइडिया दिने, ऊबाट आदेश अनुसारको लेखाउने कला भए पुग्ने दिन आएको थापा बताउँछन् । उनी भन्छन्, ‘एआई यस्तो नोकर हो, जसले लाखौँ फिल्म हेरेको छ, लाखौँ फिल्मको स्क्रिप्ट पढेको छ । बस्, हामीले ऊबाट कसरी काम लिने, अब त्यो सोच्नुपर्ने भएको छ ।
पाठक भने फिल्मकर्मीहरु पछिल्लो समय एआईप्रति निकै आकर्षित भएको बताउँछन् । ‘हामीले पहिले नै एआईको तालिम दिने घोषणा गरेका थियौँ, आवेदन आइरहेको छ,’ पाठकले भने, ‘यही २५ गतेसम्म डेडलाइन छ र सर्टलिस्ट गरिनेछ । अहिलेसम्म ८०÷९० जनाले यसबारे चासो राखेका छन् । हामीले जम्मा ४० जनालाई मात्र तालिम दिन सक्छौँ ।’
यो तालिममा श्रीलंका र चीनबाट प्रशिक्षक आउने र पाँच दिनसम्म एआई फिल्ममेकिङ सिकाउने पाठकले बताए । अनलाइनको कक्षा पनि हुने र नेपाली प्रशिक्षकहरु करुण थापा, शिव पुरी र मौसम पुरीसहित थप पाँच जनाले कक्षाहरु दिने उनले जनाए ।
फिल्म फेस्टिभलले नेपाली फिल्ममेकरहरुलाई योगदान दिने हिसाबले यो एआई तालिम दिन लागेको पाठकले बताए । नेपाली फिल्मकर्मीहरु एआईमा निकै पछि परेकाले यसबारे जानकार हुन र आउँदा पाँच वर्षमा संसारको फिल्ममेकिङ कहाँ पुग्छ भन्ने बुझ्न पनि यो तालिम आवश्यक रहेको उनले बताए ।
‘हामीले अहिले नै एआईबारे सिकेनौँ भने पछि धेरै पछि परिनेछ भनेर झक्झक्याउन यो तालिम दिन खोजेको हो,’ उनले भने, ‘पाँच दिनमा हामीले प्रशिक्षार्थी फिल्ममेकरहरुबाट आउटप्ुट पनि निकाल्ने गरी सिकाउँदैछौँ ।’
‘ट्रिक र टेक्नोलजी प्रयोग गर्न अब सजिलो हुनेभयो,’ पाठक भन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्