नेभिगेशन
स्वास्थ्य
विश्व क्षयरोग दिवस

बर्सेनि भेटिन्छन् ६७ हजार नयाँ संक्रमित

भक्तपुर । मुलुकमा हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्ने गरेका छन् । विश्व क्षयरोग दिवसका अवसरमा सोमबार राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको जानकारी दिइएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलले मुलुकमा क्षयरोगको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै यो रोगको संक्रमणलाई सामान्य ठानेर उपचारमा लापरवाही गर्न नहुने बताए । ‘एक वर्षमा ६७ हजार नयाँ बिरामी फेला परेका छन् । योसँगै एक लाख २२७ जनामा क्षयरोग छ । हरेक वर्ष करिब १६ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने गरेको छ,’ उनले भने, ‘एक लाखमा करिब ५३ जनाको मृत्यु क्षयरोगका कारण हुने गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान गरी उपचार गरिएको डा. पौडेलले जानकारी दिए । ‘३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुषको उपचार भइरहेको छ, तीमध्ये ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्,’ उनले भने ।
उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अंगमा क्षयरोग देखिने गरेको जानकारी उनले दिए । औषधि–प्रतिरोधी क्षयरोगका ६२५ बिरामी पहिचान गरिएकामा ९२ प्रतिशतको उपचारमा सफलता प्राप्त भएको उल्लेख गरे । 
विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग देखिने गरेको जानकारी दिँदै केन्द्रका निर्देशक डा. पौडेलले तीमध्ये १२ लाख ३० हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले जनाएको बताए । यो नियन्त्रणका लागि सरकारले ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको छ । ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ । मुलुकभरि औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् । १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको बताउँदै उनले नौ वटा एआई जडित डिजिटल एक्स–रे सञ्चालन गरी क्षयरोग परीक्षण गरिरहेको जानकारी दिए । मुलुकमा अझै ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेका भन्दै उनले ११ प्रतिशत बिरामी र तिनका परिवारलाई आर्थिक भार, सामाजिक भेद्भाव र पर्याप्त स्रोतसाधनको अभावले चुनौती थपिँदै गएको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्