नेभिगेशन
राजनीति
गगनले दिए रास्वपालाई बधाई

‘सतर्क प्रतिपक्षको भूमिकामा रहन्छौं’

कांग्रेसको १५औं महाधिवेशन भदौ अन्तिम साता

काठमाडौं । कांग्रेस सभापति गगन थापाले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन् । निर्वाचनबाट सुविधाजनक ढंगबाट ५ वर्षका लागि सरकार सञ्चालन म्यान्डेट प्राप्त भएकोमा उनले कांग्रेसका तर्फबाट  रास्वपा, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । 
‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ । तर, देशलाई कुनै पनि हालतमा दुर्घटनामा पर्न दिँदैनौँ,’ उनले भने । सभापति थापाले संविधान र जेनजीहरूको विद्रोहको मर्मअनुसार काम गर्ने कुरामा शुभेच्छा पनि प्रकट गरे ।
‘संविधानको मर्म र भावनाअनुसार नौजवानहरूको विद्रोहको मर्मअनुसार उहाँहरूले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गर्नुहुन्छ भन्ने शुभेच्छा प्रकट गर्न चाहन्छु,’ उनले भने । लोकतन्त्रका आधारभूत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र कांग्रेसले सतर्क भएर पहरेदारी गर्ने पनि थापाले बताए । उनले जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरे । प्रतिवेदन सार्वजनिक भएलगत्तै उक्त प्रतिवेदन कार्यन्वयन हुनुपर्ने  र जसले गल्ती गरेको छ, उसले सजाय पाउने अवस्था बन्नुपर्ने धारणा राखे । 
कांग्रेसले पार्टीको १५औं महाधिवेशन भदौ अन्तिम साता गर्ने भएको छ । सभापति गगन थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्ताव गरेका हुन् । फागुन २१ को निर्वाचनमा अनपेक्षित पराजयको नैतिक जिम्मेवारी लिएर गत बुधबार राजीनामा दिएका थापा आइतबार केन्द्रीय समितिले राजीनामा अस्विकृत गरेपछि मंगलबार केन्द्रीय कार्यालय सानेपा पुगेका थिए ।
यसपटक निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजयको सामना गर्नुपरेको छ । प्रत्यक्षमा रास्वपाले १२५ सिट जित्दा कांग्रेस १८ सिटमा खुम्चिएको छ । त्यसो त एमाले ९ र नेकपा ८ सिटमा सीमित भएका छन् । नयाँ दल श्रम संस्कृतिले ३ सिट जित्दा राप्रपाले एउटा सिटमा चित्त बुझाएको छ । मधेसवादी दलहरुले एउटा पनि सिट जित्न सकेनन् । कांग्रेस र एमालेका पार्टी पदाधिकारीहरु नराम्ररी बढारिएका छन् । 
पराजयका कारण दबाबमा परेका सभापति थापाले राजीनामा दिए पनि निष्क्रिय हुन भने पाएनन् । त्यसैले सानेपामा उनको पुनरागमन भएको हो ।
चैतबाट महाधिवेशन प्रक्रिया सुरू गरी भदौ मसान्तमा सम्पन्न गर्ने उनको प्रस्ताव छ । कांग्रेसले गत पुस अन्तिम साता विशेष महाधिवेशन गरेको थियो । कांग्रेस विधानअनुसार विशेष महाधिवेशन गरेको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । 
१४ औं महाधिवेशन ०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । सो महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिलाई पविशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा सर्वसम्मत केन्द्रीय समिति चयन गर्दै विस्थापित गरेको थियो । 
उसो त, कांग्रेसले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याएको यो तेस्रो पटक हो । यसअघि गत मंसिर १५ गते बसेको तत्कालीन केन्द्रीय कार्यसमिति बैठकले पुसको अन्तिम साता र गत पुस १८ गते बसेको कार्यसम्पादन समिति बैठकले बैशाखको अन्तिममा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । ती दुवै कार्यतालिका कार्यान्वयन हुन सकेनन् ।
विशेष महाधिवेशनको वैधानिकता पूर्वसभापति शेरबहादुर देउवा पक्षले स्विकार गरिसकेको छैन । यो समूहले विशेष महाधिवेशनको वैधतालाई चुनौती दिँदै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला सभापति थापाले नयाँ महाधिवेशनको कार्यतालिका अघि सारेका छन् । 
सभापति थापाले केन्द्रीय समिति बैठकमा धारणा राख्दै निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जबाफदेहिताबाट नभाग्ने बताए । उनले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डो¥याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।
‘फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी लिएर उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा प्रस्तुत गरेको थिएँ,’ उनले बैठकमा भने, ‘नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’
सभापति थापाले राजीनामा कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको पनि प्रष्ट पारे । ‘विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौँ भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपथ्र्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौँ ,’ उनले भने । विशेष महाधिवेशनको विपक्षमा रहेकाहरुले निर्वाचनमा अनपेक्षित परिणाम विशेष महाधिवेशनकै कारण भएको दाबी गरिरहँदा थापाले बचाउ गरेका हुन् । 
फैसला पर्खँदै देउवा पक्ष
सभापति थापाले १५औं महाधिवेशनको मिति प्रस्ताव गरेलगत्तै पूर्वसभापति देउवा पक्षले भने सर्वोच्च अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने प्रतिक्रिया दिएको छ । देउवा पक्षका नेता श्याम घिमिरेले पार्टीको आधिकारिता सम्बन्धि मुद्दो फैसला नभई नियमित महाधिवेशनमा आफूहरु नजाने पनि बताए । उनले कांग्रेस आधिकारिकतासम्बन्धि मुद्दा लम्बिएको गुनासो गर्दै उनले जनविश्वास आर्जन गर्नका लागि पनि छिटो फैसला गरिदिन आग्रह गरे । 
अघिल्लो संसदमा कांग्रेसका प्रमुख सचेतक रहेका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाएपनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने बताए । उनले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । सवपशेष महाधिवेशनमा पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्ष सहभागि थिएनन् । उनीहरुले आइतबार काठमाडौंमा अलग्गै बैठक गर्दै छिट्टै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्ीय समितिको बैठक डाक्ने र बैठकबाट १५औं महाधिवेशनको मिति तोक्ने तयारी गरेका छन् । पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई त्यसका लागि आइतबारको बैठकले जिम्मेवारी दिएको देउवा पक्षका नेता मीन विश्वकर्माले बताएका छन् । सभापति थापा नेतृत्वको केन्द्रीय समितिले १५औं महाधिवेशनको मिति तोकेपछि अब इतर पक्षले के गर्छ ? चासोका साथ हेरिएको छ । सभापति थापाले भने विशेष महाधिवेशनमा सहभागि नभएकाहरुलाई पनि नियमित महाधिवेशनमा जुट्न आग्रह गरेका छन् । 

महाधिवेशन कार्यतालिका
१. वैशाखमा क्रियाशील सदस्यता नवीकरण र वितरण 
२. असार १५ मा केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने
३. असार मसान्तमा विवरण निर्वाचन समितिलाई बुझाउने
४. नगर वडा अधिवेशन– साउन ६ 
५. गाउँ÷नगरपालिका अधिवेशन– साउन १२ 
६. प्रदेश सभा क्षेत्र अधिवेशन– साउन २३ 
७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन– साउन ३० 
८. जिल्ला अधिवेशन– भदौ ६ र ७ 
९. प्रदेश अधिवेशन– भदौ १५ र १६ 
१०. केन्द्रीय महाधिवेशन– भदौ २४ देखि २६ सम्म

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति