नेभिगेशन
अर्थतन्त्र

लिएको ऋणको सदुपयोग गर्नुपर्छः सबिना तामाङ, लघुवित्त सदस्य, काठमाडौं

मैले आफू सदस्य रहेको लघुवित्तबाट ५ लाख रुपैयाँसम्मको कर्जा लिएर व्यापार व्यवसायमा लगानी गरेकी छु । मेरो आफ्नै किराना पसल छ । कर्जाको पैसा यही पलसमा लगानी गरेकी छु । पसलकै आम्दानीले कर्जाको साँवाब्याज तिर्न र घर–व्यवहार चलाउन हाम्ररी पुगेको छ । लघुवित्त संस्थाले बिना धितो ७ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराएको छ । यसबाट हाम्रो आर्थिक अवस्था धेरै सशक्त बनेको छ । बैंकमा गएर ऋण लिनुपर्दा धेरै प्रक्रिया र झन्झट हुन्छ तर लघुवित्तले समूहमार्फत सहज रूपमा ऋण उपलब्ध गराउँदा महिला सदस्यहरूका लागि ठूलो अवसर सिर्जना भएको छ । महत्वपूर्ण कुरा यो हो कि लिएको ऋणको सदुपयोग गर्नुपर्छ ।
हाम्रो समूह इमानदारीपूर्वक काम गर्छ, योजनाअनुसार व्यवसाय सञ्चालन गर्छ र मासिक किस्ता थोरै–थोरै तिर्दै ऋण चुक्ता गरिने हुँदा अहिलेसम्म कुनै समस्या आएको छैन । व्यक्तिसँग सिधै ऋण लिएर एकैचोटी तिर्नुपथ्र्यो भने धेरै गाह्रो हुन्थ्यो । यसरी मासिक किस्ता तिर्ने प्रणालीले सदस्यलाई सहजता प्रदान गरेको छ । हाम्रो समूहमा अहिले धेरैले ७ लाख रुपैयाँसम्मको ऋण सदुपयोग गरिरहेका छन् । ऋणीले पनि लघुवित्तबाट कर्जा प्राप्त गर्नका लागि मात्र होइन, वास्तविक रूपमा व्यवसायमा लगानी गरेर आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्छ । लघुवित्त सम्मेलनले पनि यही कुरा सिकाएको छ ।
यो सम्मेलन प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने भए पनि म पहिलो पटक सहभागी भएकी हुँ । सम्मेलनमा प्राप्त अनुभव साँच्चै उपयोगी र प्रेरणादायी छ । हामीले यहाँ सिकेका कुरा, ऋणको सदुपयोग, व्यावसायिक योजना र समूह व्यवस्थापनका तरिकाले हाम्रो व्यवसायमा अझ प्रगति ल्याउनेछन् । यसले हामीलाई मात्र होइन, हाम्रो समूहका सबै सदस्यलाई आर्थिक सशक्तीकरण र आत्मनिर्भरता हासिल गर्न ठूलो प्रेरणा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्