नेभिगेशन
राजनीति

सञ्चार गृहमाथि प्रहरी हस्तक्षेप र पत्रकार पक्राउको चौतर्फी आलोचना

काठमाडौँ । समाचार संकलन, सम्पादन र सञ्चारगृहको स्वतन्त्रतामाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपालका पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरू सडक आन्दोलनमा उत्रिएका छन् । काठमाडौँको माइतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरूले वर्षाका बीच पानीमा भिज्दै एक घण्टा मौन विरोध प्रदर्शन गरेका छन् । सञ्चारमाध्यम तथा प्रेस स्वतन्त्रतामाथि भएको प्रहरी धरपकड र पत्रकार पक्राउको घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल पत्रकार महासंघ, मिडिया एलायन्स नेपाल लगायतका राजनीतिक दल तथा सञ्चार सम्बद्ध संघसंस्थाहरूले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमप्रति कडा आपत्ति र भर्त्सना व्यक्त गरेका छन्। 
शुक्रबार प्रहरीले सादा पोसाकमा विभिन्न मिडियाका कार्यालय तथा समाचार कक्ष (न्युजरुम) भित्रै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो । यसरी सञ्चारगृहमा प्रहरी छिरेर धरपकड बढाएपछि प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाको माग गर्दै महासंघले शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म माइतीघरमा खबरदारी प्रदर्शन आयोजना गरेको हो ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, न्युजरुमको स्वतन्त्रताको सम्मान गर्न र लोकतन्त्रको रक्षा गर्न माग गरिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। 
नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको सुसूचित हुने अधिकारको रक्षा गर्ने सञ्चार क्षेत्रमाथि सरकारले अधिनायकवादी शैलीमा हस्तक्षेप गरेको आरोप लगाएको छ।
कांग्रेसले समाचार लेखेकै वा विचार व्यक्त गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् ।
त्यस्तै, नेपाल पत्रकार महासंघले पनि आकस्मिक विज्ञप्ति निकाल्दै समाचारको विषयमा चित्त नबुझे कानुनी उपचार खोज्न स्थापित प्रेस काउन्सिल नेपाल जस्ता नियामक निकाय हुँदाहुँदै सिधै प्रहरी लगाएर नियन्त्रणमा लिनु कानुन विपरीत भएको ठहर गरेको छ ।
महासंघले राज्यको यस्तो अनुदारवादी कदमले सञ्चार क्षेत्रमा त्रास फैलाउने प्रयास गरेको भन्दै प्रेस स्वतन्त्रता विरोधी हर्कत तत्काल बन्द नभए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएको छ। 
मिडिया उद्यमीहरूको संस्था मिडिया एलायन्स नेपालले विज्ञप्ति जारी गर्दै सञ्चार गृह र पत्रकारहरूलाई तर्साएर आफ्नो कमजोरी लुकाउन राज्यशक्तिको दुरुपयोग गरिएको आरोप लगाएको छ ।
एलायन्सले स्वतन्त्र प्रेस बिना लोकतन्त्र जीवित रहन नसक्ने स्पष्ट पार्दै सञ्चार क्षेत्रको सुरक्षा, व्यावसायिक मर्यादा र कानुनी शासनको रक्षाका लागि पत्रकारिता जगत् एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। चौतर्फी विरोध र आलोचना बढेपछि राजनीतिक नेता, अधिकारवादी र नागरिक समाजले समेत प्रेसमाथिको धरपकड लोकतन्त्रकै उपहास भएको भन्दै सरकारको यो कदमको तीव्र आलोचना गरिरहेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकारहरूमाथि भएको धरपकडका विषयमा प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रमा आँच आउनु हुँदैन भन्ने कुरामा आफू स्पष्ट रहेको बताए । सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गरिएको विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सचिवालय बैठकले स्पष्ट निर्देशन दिइसकेको उनले उल्लेख गरे । लामिछानेले यस्तो कार्य गर्ने जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्