नेभिगेशन
मनोरञ्जन

हाना मोन्टानाकी माइली

हाना मोन्टानाको सुनौलो कपाल र ब्याङ्स शैलीमा सजिएकी माइली साइरसले आफ्नो सुरुवाती दिनहरू सम्झिइन्, त्यो शोको २० वर्ष पूरा भएको अवसरमा जसले उनलाई वास्तविक जीवनमै पप स्टार बनायो । साइरसले सोमबार साँझ लस एन्जलसमा हाना मोन्टाना २०औं वार्षिकोत्सव विशेषको प्रिमियरमा शोका कलाकारहरूसँग पुनर्मिलन गरिन् ।
यो उपलब्धिले उनलाई उक्त पात्र र शृंखलालाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर दिएको उनले सुनाइन् । १३ वर्षको उमेरमा डिज्नी च्यानलको यो शामा काम गरेकी साइरसले माइली स्टुअर्ट नामक किशोरीको भूमिका निभाएकी थिइन्, जसले आफ्नो पप गायिकाको परिचय लुकाएकी हुन्छिन् ।
‘हाना मोन्टाना’ डिज्नी च्यानलको एक अत्यन्तै लोकप्रिय सांगीतिक किशोर शृंखला हो, जसले सन् २००६ देखि २०११ सम्म युवा दर्शकहरूको मन जितेको थियो । यसमा माइली एक साधारण किशोरीको भूमिका देखिएकी थिइन, जो रातको समयमा आफ्नो पहिचान लुकाएर विश्वप्रसिद्ध पप स्टार ‘हाना मोन्टाना’ बन्छिन् ।
यो शृंखलाले किशोर उमेरका चुनौतीहरू, मित्रता र दोहोरो जीवनको सन्तुलनलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । यसै शोमार्फत माइली  विश्वव्यापी सुपरस्टारका रूपमा उदाएकी हुन् । यसका गीतहरू ‘द क्लाइम्ब’ र ‘बेस्ट अफ बोथ वल्ड्र्स’ आज पनि उत्तिकै चर्चित छन् ।
‘अब म बाहिरबाट हेर्न सक्छु, ठूलो भइसकेपछि यसमा सहभागी हुन सक्छु,  जुन कुरा म त्यस बेला गर्न सक्दिनथें, जब म अत्यधिक व्यस्त तालिका र प्रदर्शनको बीचमा थिएँ,’ उनले भनिन्, ‘अहिले यो केवल एउटा उत्सवजस्तै भएको छ । त्यसैले यो एक नयाँ दृष्टिकोण हो, र मलाई यो मन पर्छ ।’
यो वार्षिकोत्सव विशेष कार्यक्रम मंगलबारबाट डिज्नी प्लस र हुलुमा स्ट्रिमिङ सुरु भयो । प्रत्यक्ष दर्शक अगाडि छायांकन गरिएको यस कार्यक्रममा पुराना दृश्यहरू समेटिएका छन् र मुख्य रूपमा साइरससँग पोडकास्ट होस्ट एलेक्स कूपरद्वारा गरिएको अन्तर्वार्तामा केन्द्रित छ । यसमा विभिन्न सांगीतिक प्रस्तुतिहरू पनि समावेश छन् । सुरुवातमा शोको प्रसिद्ध गीत ‘द बेस्ट अफ बोथ वल्र्डस्’ र अन्त्यमा साइरसको किशोरावस्थाको आफैंलाई समर्पित नयाँ गीत ।
कार्यक्रममा परिवार र साथीहरूको पनि उपस्थिति छ, जसमा उनका पिता बिली रे साइरससँगै पुरानो ह्यान्डशेक दोहो¥याउने प्रयास गरिएको छ । साथै, प्रतिस्पर्धी भूमिकामा देखिएकी सेलेना गोमेज पनि सहभागी छिन् ।  गायिका एवम् गीतकार चपेल रोनले साइरसले आफ्नो करियरमा पारेको प्रभावबारे कुरा गरेकी छन् ।
प्रिमियरमा उपस्थित दर्शकलाई सम्बोधन गर्दै माइलीले सह–कलाकार र प्रशंसकहरूलाई धन्यवाद दिँदै भनिन्, ‘तपाईंहरू बिना यो शो यस्तो हुने थिएन । मलाई यो के थियो, के हो भन्न मन पर्छ ।’
माइलीका दाजु ज्याक्सनको भूमिका निभाएका जेसन इर्लेजले अहिले शो हेर्दा समय कति बितिसकेको छ भन्ने महसुस हुने बताए । उनले भने, ‘पुराना फ्लिप फोन जस्ता चीजहरूले तुरुन्तै थाहा हुन्छ, यो शो केही समयअगाडि आएको हो ।’
माइलीका प्रेमी पात्र जेक रायन बनेका कोडी लिन्लीले किशोर हृदय जित्ने पात्रको प्रभावबारे सम्झिँदै भने, ‘केटीहरूले मेरो फोटो लकरमा राखेर साइन गराउँथे, त्यो विश्वास गर्न गाह्रो छ । तर त्यो केवल उनीहरूले देखेको छवि हो, तपाईं आफैं होइन भन्ने सम्झनुपर्छ ।’
कार्यक्रममा उपस्थित देशी गायिका लाइनी विल्सनले आफ्नो सुरुवाती करियर सम्झिँदै भनिन् कि उनले ‘हाना मोन्टाना’को नक्कल गर्ने गर्थिन् । उनले भनिन्, ‘८ देखि १२ कक्षासम्म पाँच वर्ष म पहिला लाइनी विल्सनका रूपमा स्टेजमा जान्थें, त्यसपछि पछाडि गएर ‘हान्ना मोन्टाना’को ड्रेस लगाएर फर्किन्थें । म जन्मदिन पार्टी, मेला, फेस्टिभलहरूमा प्रस्तुति दिन्थें । म लगातार यात्रामा हुन्थें ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्