काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियान निश्चितरूपमा आवश्यक र सराहनीय कदम हो । नियम उल्लङ्घन गर्ने, मापदण्ड पूरा नगरी सेवा सञ्चालन गर्ने तथा यात्रु सुरक्षामा लापरवाही गर्ने जो कोहीलाई कारबाही हुनु स्वाभाविक पनि हो । तर, यस विषयलाई केवल कारबाही र जरिवानाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।
पछिल्लो समय राइड शेयरिङ सेवा युवाहरूका लागि आयआर्जनको एक महŒवपूर्ण माध्यम बनेको छ । सीमित रोजगारीका अवसरबीच धेरै युवाहरूले यही माध्यमबाट आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन् । यदि यस्तो अवसर नहुँदो हो भने बेरोजगार युवाको संख्या अझै बढ्ने, जसले सामाजिक समस्या र विकृतिलाई समेत बढावा दिन सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले, राइड शेयरिङलाई समस्या मात्र होइन, अवसरका रूपमा पनि हेर्न आवश्यक छ । नाकाबन्दीका बेला पारीबाट वारी पेट्रोल ल्याएर बेच्ने काम जनस्तरमा हुँदा स्थानीयले पैसा कमाउने अवसर पाउँदा तराईका जिल्लामा चोरी, ठगीका घटना शून्य भएको प्रहरीले प्रतिवेदन नै सार्वजनिक गरेको थियो । यसर्थ के हो भने युवापुस्ताले कमाउने बाटो पाउनु सामाजिक आर्थिक हरेक हिसाबले राम्रो हो । यसमा समस्या छ भने समाधानको बाटो खोज्नुपर्छ ।
यद्यपि, यस क्षेत्रमा केही अव्यवस्थाहरू देखिनु स्वाभाविक छ । उदाहरणका लागि, यात्रु चढाउने र झार्ने निश्चित स्थानको अभाव, जहाँ पायो त्यहीँ सवारी रोकिनुपर्ने बाध्यता, पार्किङको अभाव, तथा स्पष्ट नीतिगत मार्गदर्शन नहुनु प्रमुख समस्या हुन् । यस्ता कारणले गर्दा ट्राफिक जाम बढ्ने मात्र होइन, दुर्घटनाको जोखिम पनि बढ्ने गर्छ । साथै, परम्परागत ट्याक्सी चालकहरूसँगको अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक द्वन्द्व पनि देखिने गरेको छ, जुन समाधानयोग्य विषय हो ।
यस सन्दर्भमा, ट्राफिक प्रहरी र सम्बन्धित निकायले केवल कारबाहीमा सीमित नरही समस्याको दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिनु जरुरी छ । स्थानीय तह, पालिकाहरूले यसमा महŒवपूर्ण भूमिका खेल्न सक्छन् । उदाहरणका लागि, राइड शेयरिङका लागि छुट्टै ‘पिक एन्ड ड्रप’ जोनहरू निर्धारण गर्ने, व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्ने, तथा सञ्चालनसम्बन्धी स्पष्ट निर्देशिका बनाउने कार्यले धेरै हदसम्म समस्या समाधान गर्न सक्छ ।
त्यसैगरी, राइड शेयरिङ कम्पनीहरूलाई पनि आफ्ना चालकहरूको अनुगमन, तालिम र मापदण्ड पालनामा जिम्मेवार बनाउनु आवश्यक छ । चालकहरूलाई ट्राफिक नियम, यात्रु सुरक्षाका मापदण्ड तथा व्यावसायिक आचरणबारे नियमित अभिमुखीकरण गरिनुपर्छ । यसले सेवा गुणस्तर सुधार गर्नुका साथै सार्वजनिक विश्वास पनि बढाउनेछ ।
राइड शेयरिङलाई नियन्त्रण गर्नेभन्दा व्यवस्थित गर्ने दिशामा पहल हुनु आजको आवश्यकता हो । यसले एकातर्फ ट्राफिक व्यवस्थापनलाई सहज बनाउँछ भने अर्कोतर्फ युवाहरूको रोजगारी र आयआर्जनलाई पनि संरक्षण गर्दछ । त्यसैले सम्बन्धित निकायहरूले समन्वय, सहकार्य र दूरदृष्टिका साथ नीतिगत सुधार तथा पूर्वाधार विकासमा जोड दिनु आजको अपरिहार्य आवश्यकता हो ।