नेभिगेशन
स्वास्थ्य

मिर्गौला तस्करीको धन्दाविरुद्ध अपरेसन लाइफ सिल्ड

काठमाडौं (संवाददाता) – सर्वसाधारणलाई पैसाको लोभमा फकाएर भारत पुर्‍याउँदै मिर्गौला झिक्न सक्रिय गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी–७ का ३८ वर्षीय श्यामकृष्ण भण्डारी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीबाट पक्राउ गरी शनिबार काठमाडौं ल्याएको हो ।

ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार भण्डारी मिर्गौला तस्कर गिरोहका नाइके हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भण्डारी करिब पाँच वर्षदेखि भारतमा नेपालीको किड्नी बेच्ने काममा सक्रिय रहेको खुलेको छ ।

उनले नेपालबाट भारत पुर्‍याएर सय जनाभन्दा बढीको मिर्गौला झिक्न लगाएर बेचेको अनुमान छ । दिल्लीमै उनका सहयोगी २९ वर्षीय सुजन भारती पनि पक्राउ परेका छन् । मिर्गौला तस्करीको समाचार सार्वजनिक भएपछि ९ जना नेपाली पीडित सुरक्षित नेपाल फर्किएका छन् । 

अंग तस्करले पैसाको लोभ देखाइ मिर्गौला झिक्न लगाएका अधिकांशले पैसा नै नपाएको पनि अनुसन्धानमा खुलेको छ । मिर्गौला गुमाएर पैसा नपाएपछि रोइकराइ गर्दै घर फर्किएकामध्ये केहीले प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारी र उनको समूहले दिल्लीका विभिन्न अस्पताल, क्लिनिक र कर्मचारीसँग साँठगाठ गर्दै पीडितको ब्लड स्याम्पल लिएर मिर्गौला निकाल्ने, बेहोस पार्ने र अस्पताल पुर्‍याउने शैली अपनाएको खुलेको छ । उनका आरोपित सहकर्मीहरूले मिर्गौला दिने व्यक्तिलाई ४०–५० हजार भारु प्रलोभन स्वरूप दिने गरेका पाइएको छ । 

यसअघि २० साउनमा राकेश, समीर र राजकुमार नामक तीन जना पनि मिर्गौला तस्करी आरोपमा पक्राउ परेका थिए । हालसम्म सातजना पक्राउ परेका छन् । अनुसन्धानको क्रममा गिरोहले काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोटका बासिन्दाको मिर्गौला निकालेको तथ्य प्रहरीले फेला पारेको छ ।

भण्डारीमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार मुद्दामा कार्बाही अघि बढाएको जनाएको छ । ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा देशभर मिर्गौला तस्करीसम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । 

यसपटक धरपकडका लागि प्रहरीले ‘लाइफ सिल्ड’ नामबाट अपरसेन चलाएको थियो । पक्राउ परेकाहरूलाई प्रहरीले आइतबार काठमाडौंमा सार्वजनिक गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्