नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकबाट सातै प्रदेशका ४ हजार विद्यार्थी लाभान्वित

काठमडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवामाझ सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । 
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरूले स्थानीय स्तरका विद्यालय तथा कलेजहरूमा विद्यार्थी तथा युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै उनीहरूमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन् । अभियानअन्तर्गत हप्ताभरिमा सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवा लाभान्वित भएका छन् । 
बैंकले नेपाल राष्ट्र बैंकको यस अभियानअन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरू निर्माण गरी बैंकको सामाजिक सञ्जालहरूमा समेत प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको निर्देशनअनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरूबाट बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्