नेभिगेशन
अर्थतन्त्र

डेनमार्क र दक्षिण कोरियामा टेलिकमको रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता सम्पन्न भएको छ । 
यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध छ । यसअनुसार अब आठ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका नौ सेवा प्रदायकसँग सम्झौता गरेको छ । 
विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । 
भोल्टी अर्थात् भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्