नेभिगेशन
अर्थतन्त्र

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत २० देखि

काठमाडौं । नेपालभरका महिला उद्यमीको प्रतिनिधित्व गर्ने एक मात्र छाता संस्था महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ । २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्धनमा निरन्तर काम गर्दै आएको महासंघले चैत २० देखि २२ सम्म तीन दिने मेला आयोजना गर्न लागेको हो ।
महासंघले महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मेलामा देशका विभिन्न जिल्ला र ग्रामीण क्षेत्रका सफल महिला उद्यमीलाई उनीहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।
महासंघले ७७ जिल्लाका जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ । करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही छन् । ललितपुरको हेरिटेज गार्डेनमा हुने मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीको सहभागिता रहनेछ ।
मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गर्नेछ । मेलामा १४० वटा स्टल रहनेछन् । मेलामा हस्तकलाका सामानहरू प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामान, गलैंचा, हाते कागजका सामान जैविक खाद्य पदार्थ स्वदेशी रैथाने खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडिबुटीका सामान विभिन्न मूर्तिहरू गरगहना सजावटका सामान रहनेछन् । नेपालको विभिन्न क्षेत्रका रैथाने तथा मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न महŒवपूर्ण भूमिका रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्