नेभिगेशन
स्वास्थ्य

सरसफाइ र खोपको समन्वयले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि

काठमाडौं । नियमित खोप कार्यक्रमसँग जोडिएको सरसफाइ प्रवद्र्धन अभियानले देशभर लाखौं अभिभावकमा स्वच्छता व्यवहार र खोप पहुँच सुधार गर्दै प्रभावकारी नतिजा दिएको पाइएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्व तथा वाटरएड नेपालको सहकार्यमा कार्यान्वयन गरिएको नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवद्र्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन संघीय स्तरमा सार्वजनिक गरिएसँगै सो बताइएको हो ।  प्रतिवेदन सार्वजनिक कार्यक्रममा नीति निर्माता, विकास साझेदार, स्वास्थ्य विज्ञ तथा सञ्चार माध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवाती चरणदेखि देशव्यापी विस्तारसम्मको यात्रा समीक्षा गर्दै यसको दीर्घकालीन दिगोपनाका सम्भावित मार्गहरूबारे छलफल गरिएको थियो । सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा पाइलटका रूपमा सुरु गरिएको यस कार्यक्रमको सफलतापछि नेपाल सरकारले सन् २०१८ मा यसलाई देशव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसपश्चात सन् २०२० मा रोटाभाइरस खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गर्ने क्रममा एचपीटीआरआई कार्यक्रम पनि ७७ वटै जिल्लामा विस्तार गरिएको हो ।
यस कार्यक्रममार्फत वार्षिक ५ लाख ३० हजारभन्दा बढी आमाहरू तथा अभिभावकहरूसम्म पहुँच पुगिरहेको छ भने देशभर प्रत्येक महिना सञ्चालन हुने १९ हजारभन्दा बढी खोप सत्रमार्फत सेवा प्रवाह भइरहेको छ । देशव्यापी विस्तारपछि १५ महिनामुनिका बालबालिकाका करिब १८ लाखभन्दा बढी अभिभावकसम्म समग्र पहुँच पुगेको छ । कार्यक्रम कार्यान्वयनका लागि २४ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम र हरेक तीन वर्षमा पुनर्ताजगी तालिम दिइँदै आएको छ ।
कार्यक्रममार्फत १५ महिनामुनिका बालबालिकाका अभिभावकहरूलाई जोखिमपूर्ण समयमा साबुनपानीले हात धुने, पिउनु अघि पानी तथा दूध सुरक्षित बनाउने, खाद्य स्वच्छता अपनाउने, पूर्ण स्तनपान गराउने, शौचालय प्रयोग तथा बालबालिकाको दिसाको सुरक्षित व्यवस्थापन गर्ने, साथै १५ महिनाभित्र पूर्ण खोप सुनिश्चित गर्ने कुरा प्रवद्र्धन गरिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्