नेभिगेशन
राजनीति

प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथ आज

वरिष्ठ नेता पार्टीको संसदीय दलको नेता चयन

काठमाडौं । वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त हुनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मार्गप्रशस्त गरेको छ । पार्टीको बैठकले बिहीबार शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्दै वैधानिक बाटो बनाइदिएको हो । 
बुधबार नियुक्तिसँगै शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । रास्वपा फागुन २१ को चुनावमा जाँदै शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर मैदानमा उत्रिएको थियो । बहुमतसहित सरकार बनाउन दाबी पुग्ने एक्लो पार्टी भएको छ । 
पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । गत फागुन २१ मा भएको निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतका साथ विजयी भएका हुन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ७४ वर्षीय केपी शर्मा ओलीलाई चुनौती दिँदै उम्मेदवारी दिन झापा पुगेका ३६ वर्षीय शाह ४९ हजार ६१४ को मतान्तरले विजयी भएका थिए । उनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत पाएका थिए ।
जेनजी आन्दोलनले सत्तापलट गर्दै मुलुकमा ल्याएको मध्यावधि निर्वाचनको बाध्यतामा रास्वपाले अभूतपूर्व जनमत पाएको थियो । रास्वपाले १८२ सांसद बनाउँदै एकल सरकार बनाउने सुनिश्चित भएको छ । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको संसदीय दलको बैठकले भने सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ । संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरू, पार्टीको मुख्यसचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतिले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले बताइन् । 
०७२ को संविधान जारी भएपछि एकल पार्टीको सरकार बन्न लागेको यो पहिलो पटक हो । रास्वपा संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएपछि उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । 
निश्चित राजनीतिक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्थे । तर, यसपटक प्रतिनिधिसभामा दुई तिहाइ नजिकको संख्यामा रास्वपा पुगेपछि राष्ट्रपतिले संविधानको धारा ७६(१) अनुसार संसदमा बहुमत पुगेको दलको संसदीय दलको नेतालाई  प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । 
रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखितरूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता प्रधानमन्त्री नियुक्त हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 
शुक्रबार दिउँसो १२ बजेपछि शाहले प्रधानमन्त्रीको शपथ लिनेगरी तयारी गरिएको छ । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी सुरु भइसकेको छ ।
निम्तालुहरूलाई १२ बजेअगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको कार्यालय स्रोतले जनाएको छ । शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्