नेभिगेशन
राजनीति

नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं । नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनको अस्थायी संरचनामा बिहीबार शपथ लिएका हुन् । 
भवन निर्माण नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण गराइएको हो । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूले शपथ ग्रहण गराएका हुन् । 
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए । संसद् सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि आग्रह गरेको थियो ।
नयाँ संसद् भवन तयार नहुन्जेल अस्थायी यही संरचनामा प्रतिनिधिसभाको बैठक बस्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, कांग्रेसले ३८, एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।
शपथपछि कसले के भने ? 
सांसदको शपथपछि विभिन्न राजनीतिक दलका नेताहरुले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताएका छन् ।ध राम्रो काममा रास्वपा सरकारलाई साथ रहने दाहालले बताए । उनले भने, ‘बहुमत ल्याएर सरकार बनाउने साथीहरूलाई बधाई र शुभकामना भन्छु । सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ ।’ 
एमाले सचिव पद्मा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सपथग्रहणपछि उनले प्रतिपक्षको हैसियतले सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने उनले बताइन् । 
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामका लागि आफूहरूको सहयोग रहने बताएका छन् । शपथ लिन सिंहदरबार पुगेका सांसद शाहीले संसद्बाटै जनताको समस्या समाधान हुने आशा व्यक्त गरे । ‘पहिलाजस्तो मन्त्रीको गेटमा जान नपरोस्, संसद्बाटै जनताको समस्याको समाधान होस् । अहिले हामी सकारात्मक र राम्रा काममा सहयोग गरेरै अगाडि बढ्छौं,’ उनले संसद भवन परिसरमा शपथपछि भने । 

असल प्रतिपक्षीय भूमिकामा रहन्छौं’
कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले जनादेश र मतादेशको उच्च सम्मान गर्दै आफ्नो पार्टीले असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताएका छन् । संघीय संसद्मा बिहीबार सपथ ग्रहणपछि उनले कांग्रेसलाई निर्वाचनबाट प्रतिपक्षीय भूमिकाको जिम्मेवारी मिलेको  उल्लेख गरे । सोही बमोजिम एउटा असल जनप्रतिनिधि हुँदै असल प्रतिपक्षीय भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
‘हिजोको कमी कमजोरीलाई स्वीकारेर थप परिष्कृत ढंगले एउटा असल जनप्रतिनिधि बन्ने प्रयासको क्रममा मैले मेरो तर्फबाट जति पनि योगदान दिन सक्छु । सबै विधि विधायनको प्रक्रियामा होस्, चाहे जिल्लाको र समग्र राष्ट्रकै साझा चुनौती र अवसरको विषयमा होस्,’ उनले भने, ‘मेरो तर्फबाट भरपुर मेहनत हुनेछ ।’ यसपटक सरकार गठनको तयारीमा रहेको रास्वपाको सांसद् संख्या १८२ छ भने कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७ छ । यस्तै श्रम संस्कृति पार्टीको ७ र राप्रपाको ४ सांसद छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति