नेभिगेशन
प्रदेश

कृषि सामग्री धुलिखेलबाट ७ हजार टन मल बिक्री, किसान भन्छन्– पाइएन

काभ्रे । केही वर्षदेखि देशभरका अधिकांश किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामग्री कम्पनी धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आएको छ । यी चार जिल्लामा कम्पनीले चालु आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
साउनदेखि फागुनसम्ममा कम्पनीले चार जिल्लामा ७ हजार ८२७ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ४ हजार ९९१ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधिमा २ हजार ५७४ मेट्रिक टन डिएपी र २६१ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख आलोककुमार शर्माले जानकारी दिए ।
उनका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रेमा बिक्री गरिएको छ । काभ्रेमा ३ हजार ५०१ मेट्रिक टन युरिया, १ हजार ८८३ मेट्रिक टन डिएपी र २०६ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा १ हजार ३५० मेट्रिक टन युरिया, ६६९ मेट्रिक टन डिएपी र ५४ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ ।
दोलखामा २४ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने ११६ मेट्रिक टन युरिया, १० मेट्रिक टन डिएपी र ०.०५ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ । यसमा साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बिक्री गर्ने मल उल्लेख छैन । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्रीले ७० प्रतिशतको अनुपातले मल बिक्री गर्दै आएका छन् ।

कसरी हुन्छ मलको वितरण ?
सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा मल किसानले सहकारी संस्थामार्फत मात्रै पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको सूचीअनुसार मात्रै कृषि सामग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउँछन् । 
विगतमा देशभर किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको थियो । तर, अहिले मल आइरहेको छ । विभिन्न पालिकालाई गएको कोटाअनुसार पालिकाहरुले पनि मल लगिरहेका छन् । तर, किसानले भने मल नै नपाएको गुनासो सधैंजसो गरिरहेका हुन्छन् ।
मलको स्टक कति छ ?
हरेक दिन मल आउने र पठाउने क्रम जारी रहने भएकाले ठ्याक्कै यति नै मात्रामा बाँकी छ भन्न सकिँदैन । तर, कार्यालयका प्रमुख शर्माका अनुसार चैत ७ सम्म धुलिखेलको कृषि सामग्री कम्पनीमा १ हजार ७५४ मेट्रिक टन युरिया, २०८ मेट्रिक टन डिएपी र १६४ मेट्रिक टन पोटास मलको स्टक बाँकी छ । कोटाअनुसार सम्बन्धित पालिका र सहकारीले पनि मल लगिरहेका छन् ।
यस अनुरुप किसानले पनि मल पाएको हुनुपर्ने हो तर सधैँ मलकै अभाव भनेपछि समस्या कहाँ छ र समाधान कसरी गर्ने भन्नेबारे कार्यालय प्रमुख शर्मा नै अन्योलमा छन् । किसानहरु भने सहकारीले आफ्ना सदस्य र नजिकका आफन्तलाई मात्र मल दिएको आरोप लगाउँछन् । यो समस्या समाधानका लागि राम्ररी अनुगमन हुनुपर्ने उनीहरुको माग छ । 

अनुगमन भइरहेको छः उपप्रमुख सापकोटा
हरेक पालिकाले उपप्रमुखको समन्वयमा रेखदेख हुने गरी आफ्ना पालिकाभित्रका सहकारीलाई मल वितरणको व्यवस्था गरेका छन् । ती सहकारीले मल लगेको नलगेको वा किसानलाई दिएको नदिएको अनुगमन पनि उपप्रमुखकै नेतृत्वको समितिले गर्छ । बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले आफ्ना पालिकाका सहकारीलाई समयमै मल लैजान र किसानहरुलाई सहज तरिकाले वितरण गर्न सधैं नै पत्राचार गर्ने गरेको जानकारी दिइन् ।
उनका अनुसार खेतीपातीको सिजनको बेलामा मलको माग बढ्ने र सिजन सकिएपछि माग कम हुने हुँदा कतिपय सहकारीले आफ्नो कोटाको मल नलगेको हुन सक्छ । त्यसको सत्यतथ्य बुझेर मल नलगेका सहकारीलाई ताकेता गर्ने, त्यति गर्दा पनि लगेनन् भने उनीहरुको कोटाको मल धेरै माग हुने ठाउँमा पठाइने पनि उनले बताइन् ।
किसानले सहज तरिकाले मल पाउनका लागि पालिकाले सहजीकरण गरिरहेको र यसलाई निरन्तरता दिइने उनको भनाइ छ । सरकारले यस वर्ष कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको छ, जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्