नेभिगेशन
अर्थतन्त्र

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक आरम्भ

काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्यमार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिए । उनले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताए ।
कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टरकार्डको महत्व, प्रयोगका सम्भावना र ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिए । यस डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने उनले बताए । 
बैंकले जारी गरेको डेबिट मास्टरकार्डले नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटिएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने जस्ता विषयमा जानकारी दिइएको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबारमार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिएको छ । बैंकले देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ एकाइमार्फत ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्