नेभिगेशन
अर्थतन्त्र

स्मार्ट बन्दै एमजीका विद्युतीय कार

काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कार विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ । नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको हो ।
यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । साथै, एमजीले विद्युतीय कारमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ । ‘सेमी–सोलिड–स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।
फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्छ । यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउँछ । नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ ।
इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र होइन, इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुन्छ । गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउँछ । यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ ।
एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १.८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मुथ, शान्त र छिटो हुने अपेक्षा गरिएको छ । एमजीको ‘सोलिडकोर’ नामको नयाँ ब्याट्री पनि यो वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिएको छ । यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्