नेभिगेशन
अर्थतन्त्र

सञ्चय कोषद्वारा ५ अर्ब ३० करोड नाफा वितरण

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई कुल ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । कोषले आर्थिक वर्ष २०८१÷८२ को आम्दानीबाट करिब ५ अर्ब १९ करोड रुपैयाँ सञ्चयकर्ताहरूको व्यक्तिगत खातामा र करिब १० करोड ५५ लाख रुपैयाँ योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) योजनाका सदस्यहरूको खातामा जम्मा गरेको हो । 
कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले व्यक्तिगत खातामा रहेको प्रारम्भिक मौज्दातको १ प्रतिशतका दरले मुनाफा बाँड्ने निर्णय गरेको थियो । कोषले सोही निर्णय बमोजिम सम्बन्धित सदस्यहरूको खातामा रकम पठाइएको जनाएको छ । कोषले हरेक आर्थिक वर्षमा आर्जित मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्ताहरूलाई वितरण गर्ने र बाँकी रकम विभिन्न जगेडा तथा कल्याणकारी कोषहरूमा राख्ने नीति अवलम्बन गर्दै आएको छ ।
यस्तै, कोषले चालु वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशतका दरले ब्याज प्रदान गरेको छ । साथै, सञ्चयकर्ताहरूले कोषबाट आफ्नो बचत रकमको ९५ प्रतिशतसम्म ५.७५ प्रतिशत ब्याजदरमा विशेष सापटी लिन सक्ने सुविधा छ । यसका अतिरिक्त घर सापटी, शैक्षिक सापटी, घर मर्मत, सरल तथा जग्गा खरिद सापटीजस्ता विभिन्न सेवाहरू पनि सञ्चालनमा रहेका छन् ।
कोषले सदस्यहरूबाट अतिरिक्त योगदान नलिई आफ्नै स्रोतबाट सामाजिक सुरक्षा कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा सुत्केरी तथा शिशु स्याहार सुविधाअन्तर्गत १९ हजार १११ जनालाई करिब १४ करोड ३४ लाख रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै, काजकिरिया अनुदानअन्तर्गत ६०५ जनालाई २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिबापत १७० जनालाई ३ करोड ३९ लाख तथा स्वास्थ्य उपचार खर्च फिर्ता शीर्षकमा ५ हजार ३५५ जनालाई करिब ३४ करोड रुपैयाँ प्रदान गरिएको थियो ।
यस्तै, निजामती सेवातर्फका १७२ जना सञ्चयकर्तालाई विशेष आर्थिक सहयोगबापत करिब १ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको कोषले जनाएको छ । हाल कर्मचारी सञ्चय कोषमा करिब ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तिभरण योजनाका योगदानकर्ता आबद्ध छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्