नेभिगेशन
राजनीति
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री कार्कीको सम्बोधन

‘गलत नियत राखेर कुनै काम गरेका छैनौं’

काठमाडौं । बालुवाटार छाड्ने पूूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले प्राप्त म्यान्डेटअनुसार अन्तरिक सरकारले काम गर्न सकेकाले नयाँ सरकारलाई बाटो सहज रहेको बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नयाँ जनादेशलाई स्वागत गरेकी छन् ।
‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ । परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु ।’
उनले नागरिक, सहिद परिवार, घाइते, सुरक्षा तथा प्रशासनिक संगठन, राजनीतिक दल र मतदाताप्रति आभार व्यक्त गरेकी छन् । भदौ २३ र २४ का घटनाबाट पीडित युवा र परिवारलाई उनले सम्झना गरेकी छन् । ‘म स्मरण गरिरहेकी छु, ती कलिला बालबालिका, जसले ज्यान गुमाउनुप¥यो । ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता भोग्नु प¥यो । ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुप¥यो । तपाईँहरु एक्लो हुनुहुन्न,’ उनले भनिन् । ध्वंसात्मक घटनामा नष्ट भएका ऐतिहासिक धरोहर, व्यवसायिक प्रतिष्ठान र निजी सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै देश एकताबद्ध भएर अघि बढ्न आह्वान गरिन् ।
७६ जनाको मृत्यु, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्ब रुपैयाँ क्षति भएको घटना उनले स्मरण गरिन् । त्यसपछिको वातावरणलाई सहज बनाउँदै सुरक्षा, प्रशासन र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार पार्नु चुनौतीपूर्ण काम भएको उनले बताइन् । निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अदालत र अन्य राष्ट्रसेवकको योगदानको उच्च प्रशंसा गर्दै उनले सबैलाई धन्यवाद दिइन् ।
प्रधानमन्त्री कार्कीका अनुसार अन्तरिम सरकारले निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा नयाँ मानक स्थापित गरेको छ । ‘यदि आगामी चुनावमा यही स्तर कायम रह्यो भने हाम्रो लोकतन्त्र थप सुसंस्कृत र समृद्ध चरणमा प्रवेश गर्न सक्छ,’ उनले भनिन् ।
विशेषगरी उनले नयाँ सरकारको भूमिकामा विश्वास व्यक्त गर्दै भविश्यप्रति आशावादी हुन सकिने बताइन । युवा नेतृत्वको अबको सरकारले जेनजी आन्दोलनको मागअनुसार भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायमा नतिजामुखी काम गर्नेमा उनले विश्वास व्यक्त गरेकी छन् । आफूलाई प्राप्त म्यान्डेटअनुसारको कार्यभार पुरा गरेको अवसरमा उनले नयाँ सरकारलाई शुभकामना दिइन् ।
प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले गरेका प्रयासको मूल्यांकन जनता र इतिहासमा छोड्दै भनिन्, ‘हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौं  । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौं । यस अवधिमा केही राम्रो गर्न सकिएको रहेछ भने त्यो तपाईंहरूको सहयोगकै कारण सम्भव भएको हो ।’
देशका सबै संस्थाहरूलाई संवैधानिक मर्यादामा काम गर्न अनुरोध गर्दै नयाँ सरकारले मुलुकको उज्यालो भविष्य निर्माण गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
‘विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ । निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौं,’ उनले भनिन्, ‘आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पु¥याउन सकिनेछ ।’ 
विशेष परिस्थितिको निर्वाचनले एउटा महत्वपूर्ण पाठ सिकाएको उनले बताइन । ‘निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ । संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौं । हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौं भन्ने पनि साबित गरेका छौं,’ उनले भनिन् । 
अन्तरिम सरकारका कामको मूल्यांकन जनताको जिम्मामा छाडेको उनले उल्लेख गरिन् । ‘यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौं । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौं । यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले ग¥यौं भन्ने पनि दाबी छैन,’ उनले भनिन्, ‘तर यहाँहरुसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौं । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौं ।’ 
यस अवधिमा केही राम्रो गर्न सकियो भने जनताका कारण सम्भव भएको उनले बताइन । ‘यदि कमजोरी रह्यो भने त्यो मेरै भागमा पारिदिनुहोला,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति